• १३ भदौ २०८१, बिहिबार

मोटरसाइकल चोर्ने तीन जना पक्राउ

blog

काठमाडौँ, भदौ १३ गते । काठमाडौँको चाबहिल  र स्वयम्भूबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोट घर भई काठमाडौँको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३० वर्षीय सूर्यबहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो । 

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९०  नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९० १९ राखी चलाइरहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

त्यसै गरी वास्तविक नम्बर सुदूरपश्चिम प्रदेश ०१–००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ७७ १५ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी शर्मालाई पनि हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश ०१ ००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डडेल्धुराको परशुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बरसिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए ।