• १६ भदौ २०८१, आइतबार

डर (कथा)

blog

“ह्याँ पैसो कसले गाडेको हँ ?”

पूजाखण्डबाट माल्दाइले मुसुमुसु हाँस्दै सोध्नुभयो । 

बिहानको खाना खानेबेला भएको थियो । आमाले भान्सामा भात पस्कँदै हुनुहुन्थ्यो । भान्साको चौकामुनि ठुल्दिदी, माइल्दिदी, म र कल्पना लस्करै बसेका थियौँ । साधना सानै थिई, यस्तै चार पाँच महिनाकी हुँदी हो । माइल्दाइका लागि मोहिरोमा पिर्का र पानी तयार थियो । गाउँतिर डुल्न जानुभएका बुवा आइपुग्नुभएकै थिएन । त्यसैले आज पूजा गर्ने पालो माइल्दाइको थियो । कान्छादाइको वर्तुन (व्रतबन्ध) गरेकै थिएन । उहाँले पूजा गर्ने कुरै भएन । वर्तुन नभएका कारण मोहिरोमा उक्लेर खाना खाने कुरा पनि भएन र कान्छादाइ पनि हामीसँगै बसेर खाना खानुहुन्थ्यो । ठुल्दाइले कहिलेदेखि घर छोडेर जानुभयो यादै छैन मलाई । उहाँ एसएलसी दिएपछि पढ्न भनेर सहर पसेको कुरा धेरै पछि थाहा पाएकी थिएँ ।

सबै जना चुप रहे । कसैले पनि “त्यो पैसो मैले गाडेको हो” भनेनन् । भनुन् पनि कसरी ? गाडेको भए पो भन्नु ! 

“आज बिहान जसले पूजाऽभाँडा माझ्यो उसैले गाडेहोला नि !” आमाले भन्नुभो । 

“आज कसको पालो थियो ?” माइल्दाइले फेरि सोध्नुभो । 

“यल्ले माझेकी हो” माइल्दिदीले मतिर देखाउँदै भनी । 

“तैँले गाडेकी होस् रामनी ?” देउता नजिकै बसेका माइल्दाइले सोधेपछि चुप लाग्ने कुरै भएन । नङले भुइँ कोट्याउँदै मसिनो स्वरमा “हो” भनेँ । दाइले मुसुक्क हाँस्दै सोध्नुभो “किन गाडेकी नि ! भन् त ?” सबैका आँखा मैतिर फर्केर प्रश्नवाचक भए । 

“देउतालाई चढाको पैसो लाँदा देउताले गाली गर्चन् कि भन्ने डर लाओ अनि त्यैँ गाड्दिएँ ।” मेरो कुरा सुनेर सबै जना मरीमरी हाँस्नथाले । सँगसँगै म पनि हाँसिदिएँ । 

बिहान उठेपछि क्षमता अनुसारको काम समात्नुपथ्र्यो । त्यसैले पूजाका भाँडा माझ्ने, पूजा सामाग्री तयार गर्ने काम प्रायः मेरै थियो तर पूजा गर्ने काम चाहिँ बुवाको थियो । बुवा नहुँदा माइल्दाइले गर्नुहुन्थ्यो । कान्छादाइलाई पनि यो हक थिएन । बुवा वा माइल्दाइ दुवै नहुँदा आमाले गर्नुहुन्थ्यो तर शालिग्राम भने छुनु हुँदैनथ्यो । 

हिजो आमाको आइतबारको व्रत थियो । देउता राखेको कुँडीमा कोरिएको सूर्यलाई करवीरका लामा लामा पात र लालुपाते चढाएर पूजा गर्नुभयो । तामाको दसपैसे ढ्याक पनि चढाउनुभयो । आमाले साँझको आरती गरेर भान्सामा बसेपछि म भान्सासँगै जोडिएको पूजाखण्डमा गएर बसेँ । आमाले बिहान चढाएको करवीरको फूलमाथि तामाको दसपैसे ढ्याक थपक्क बसेको देखेँ । हातमा लिएर ओल्टाइपल्टाई हेरेँ । तीनतलेका बुढाबालाई सम्झेँ । “यो दस पैसाको पुस्टकारी किन्न पाए कति धेरै दिन्थे होलान् है !” मन पुस्टकारीमय भयो । 

तीनतलेको बारीभरि उखु नै उखु थिए । उखु पेल्ने कोल पनि थियो । उखु पेलेर बुढाबाले खुदो बनाउँथे र बेच्थे । गुँड बनाएर भोर्लाको टपरीमा सिन्काले खुटेर राख्थे र बेच्थे । कहिलेकाहीँ आमाले पनि किनेर ल्याउनुहुन्थ्यो र खान्थ्यौँ । खुब मिठो लाग्थ्यो । केटाकेटीहरूका लागि भने पुस्टकारी बनाएर बेच्थे । पाँच पैसाको पुस्टकारी त मुट्ठीभरि आउँथ्यो । उनकी नातिनी थिई नानुमैयाँ । हामी तलको घरमा गएपछि उसले खेल्ने साथी पाएकी थिई कल्पना । ऊ दिनदिनै खाना खाएपछि काखमा बिरालोको बच्चा च्यापेर हाम्रो घरतिर सोझिन्थी र “आऊ टल्पना थेल्न दाम्” भन्दै परैबाट चिच्याउँदै आउँथी । दिनभरि कल्पनासँग खेलेर साँझ परेपछि बिरालो च्यापेरै घर जान्थी । उसको बिरालो पनि उनीहरूसँगै खेल्थ्यो । 

  मन धेरैबेर गुलियो हुन पाएन किनकि त्यो पैसा देउताको थियो । देउताको पैसाले पुस्टकारी किनेर खाने हिम्मत आएन । डर लाग्यो देउताको । छोडौँ भने अरूले भेट्टाएर लैजालान् भन्ने पिर । माटैमाटोको थुम्को थियो पूजाखण्ड । आमाको भान्साको गारोसँगै जोडिएको । पूजाका भाँडा माझ्दा पोखिएको र देउतालाई चढाउँदा चुहिएको पानीले गिलो भएको माटोमा कुँडी नजिकै ठाडो पारेर गाडिदिएँ पैसो । कसरी देख्नुभो कुन्नि दाइले !

मपछि जन्मिएकी बहिनी कल्पना हिँड्न सक्ने भएकी थिई । एक दिन हामी बसिरहेको गाउँको मूल घरमा थुप्रै  मान्छे जम्मा भए । बुवा, माइलाबुवा र कान्छाबुवा पनि जम्मा हुनुभयो । पिँढीमा घरभित्रका सबै भाँडाकुँडा ल्याएर थुपारियो । आमाले मामाघरबाट ल्याएर मदुसभित्र राखेका भाँडा पनि निकाल्नु भयो । सबै भाँडा बाहिर पुगे र भाग लगाइए । विस्तारै ती सामानको तीन भाग लाग्यो । सबैभन्दा पहिले एक भाग कान्छाबुवाले रोज्नुभयो र आफूतिर तान्नुभयो । त्यसपछि पालो आयो माइलाबुवाको । बाँकी रहेको भाग चाहिँ बुवाको रहेछ । त्यो भाग एउटा डोकोमा हालियो र पिँढीको कुनामा राखियो ।  

अस्ति भर्खर मामाघर जाँदा बोईले देउतालाई जल राख्ने गरेको सानो तामाको लोटा सारै राम्रो लागेर मागेर ल्याएकी थिएँ । आमाले त्यसलाई पनि मदुसमै राख्नुभएको थियो । त्यो मदुस पनि मामाघरबाटै ल्याइएको थियो । जुन मदुस सधैँभरि बोईको मायाले भरिएको हुन्थ्यो । आठ भाइ छोरा थिए बोईका । छोरी भने आमा मात्रै हुनुहुन्थ्यो । सबैले माया गर्थे । हरेक पल्ट मामाघर जाँदा आमाले टन्न कोसेली ल्याउनुहुन्थ्यो । बोईले लुकाएर दिएका चिज राख्ने ठाउँ पनि त्यै मदुस थियो । 

मदुसबाट भाँडा निकाल्दै गर्दा आमाले लोटा पनि निकाल्नुभयो । 

“मेरो टुङ्कुलो !” 

खुसीले उफ्रँदै मैले आमाको हातबाट लोटा खोसेँ र लगाएको जामाभित्र गुटुमुटु पारेर लुकाएँ । मायाँ गरेर मैले त्यसको नाम “टुङ्कुलो” राखेकी थिएँ । सानो थियो, त्यसैले । जामाभित्र मेरो टुङ्कुलो लुकाएर म पनि आमासँगै पिँढीको एउटा कुनामा उभिएँ र आमालाई सोधेँ– “आमा ! के गरेको नि यो ?” 

“औँस लाऽको” आमाले अँध्यारो मुख लगाउँदै भन्नुभो “अब हामी छुट्टिने ।” के होला यो छुट्टिने ? मैले कुरै बुझिनँ । 

भोलिपल्ट !

माइल्दाइले भाँडाकुँडाको डोको बोक्नुभयो । सबैले एकएक पोका च्यापे । आमाले कल्पनालाई च्याप्नुभयो । मैले चाहिँ एक हातले त्यै टुङ्कुलो समातेँ, अर्को हातले आमाको धोती । आँगनबाट गोठमा झर्ने सिँढीहरू झर्दै ओरालो लाग्यौँ गोठभन्दा पनि तल, धेरै तल । यमुना र सरस्वतीहरू भने आएनन् हामीसँग । म जन्मेको त्यो ठुलो घर त माइलाबुवाको भागमा परेको रहेछ ।  यमुनाहरू त्यहीँ बसे । तैपनि अलि तल पुग्दासम्म पनि आउँछन् कि भन्दै पछि फर्कंदै हेर्दै गरिरहेँ तर आएनन् । उनीहरू नै मेरा खेल्ने साथी थिए । उनीहरूले आँगनको डिलबाट हेरि मात्र रहे । कस्तो नरमाइलो लाग्यो । 

तलको घरमा पुग्यौँ । माथि गाउँको घरभन्दा भिन्दै लाग्यो । वरिपरि खेतबारी । आँगनसँगै जोडिएर लमतन्न परेको खरबारी । घरको दक्षिणपट्टि पाखो गाँसेर बनाइएको गोठ र गोठसँगै टाँसिएको ठुलो आँपको रुख । घरै अगाडि पानीको कुलो । दैलोनेरै खन्युको बोट । खेल्ने, उफ्रिने, कुद्ने ठाउँ त कति हो कति ! 

तर मन धेरैबेर रमाउन पाएन । आँपको रुखबाट दुई चार पाइला अगाडि पुगेर खरबारीको डिलबाट यसो तलतिर हेरेको त डरलाग्दो वन पो रहेछ । नयाँ ठाउँमा आउनु के थियो, मनभित्र डरले घर बनाइहाल्यो । अझ डराउने कुरा त भन्नै बाँकी पो छ त ! चर्पी पनि त्यै खरबारीको डिलमा रहेछ । एक्लै कसरी आउने ! तलतिरबाट फुत्त बाघ निक्लेर खायो भने ! सधैँ एक न एक जना साथी आउनुपथ्र्यो । तलको घरमा बसुन्जेल साथीबिना एक्लै कहिल्यै चर्पी गइनँ । साथी भने जो भए पनि हुन्थ्यो । सानी बैनी भए पनि हुने । 

दिनभर त मान्छेको चहलपहलले उत्तिसारो डर लाग्दैनथ्यो तर घाम ओरालो लाग्नासाथ घरभित्र पसिहाल्थेँ । बुवा, दिदी, दाइहरू काममा गए पनि आमा घरमै बस्नुहुन्थ्यो । घरकै काममा व्यस्त हुनुहुन्थ्यो । साँझ आमा भान्सामा खाना बनाउन बसेपछि मेरो बस्ने ठाउँ चाहिँ आमा नजिकैको पूजाखण्ड हुन्थ्यो । यो त्यही पूजाखण्ड हो जहाँ मैले त्यो तामाको दसपैसे ढ्याक गाडेकी थिएँ । आमासँग त जानै नपाइने । भान्सा छोइन्थ्यो । खाना खाएर नसकुन्जेल आमा भान्साबाट तल झर्न नहुने । कल्पना डराउँथी कि डराउँदिनथी कुन्नि ? ऊ सानै थिई । सायद उसलाई बाघको डर लाग्ने बेलै भएको थिएन । 

आमाबाहेक मलाई बाघबाट जोगाउने त्यहाँ एउटै थिए– देउता । उनको नजिक बसेपछि म आफूलाई सुरक्षित महसुस गर्थें । यस्तो लाग्थ्यो, त्यहाँ बसेपछि बाघ आउँदै आउँदैन । ढुक्क हुन्थेँ म । गाई, गोरु, भैँसी सबै बाहिरै बाँधिएका हुन्थे तर बाघ कहिल्यै आएन हाम्रो गोठमा । बरु एक दिन बिहानै माथि घरमा बस्नुभएकी मुखिनीबोई (बुवाकी काइँली आमा) रुँदैरुँदै बेँसीतिर झर्नुभयो । उहाँको एउटा तारीगाई थिई । उसले एउटी राम्री राति बाच्छी पाएकी थिई । हिजो राति बाघ आएर त्यसैलाई मारेर खाइदिएछ । 

“राति बाच्छी” बाघले खाएको दुःख त लाग्यो नै । बाघ दिनभर जङ्गलमा सुत्छ अनि रातको समयमा गाउँतिर आउँछ भन्थे, हो रहेछ । दिउँसै लाग्ने बाघको डर मेरा लागि भनिसाध्यै थिएन । म मात्र होइन, अरू पनि त्यो वन छेउको घरमा बस्न डराएर हो या बाँदरले अतिसारो दुःख दिएर हो, सबैले बुवासँग गुनासो गरे । उता मुखिनी बोई पनि एक्लिनुभएको रहेछ क्यारे ! उहाँकै आग्रहमा बुवाले माथि गाउँमा घर बनाउनुभयो र सबै जना माथि स¥यौँ । मुखिनी बोई पनि हामीसँगै बस्न थाल्नुभयो । 

तलको घरमा बस्दा आमाले अर्की एउटी बैनी थपिदिनुभयो । एक दिन साँझको खाना खाएर दिदीहरूसँगै आँटीमा सुत्न गएँ । हामी आँटीमा उक्लिँदै गर्दा आमा भने जुठाभाँडा माझ्दै हुनुहुन्थ्यो । बिहान उठेर तल झर्दा त आमा अँगेनापारिको ओछ्यानमा सुतिरहनुभएको देखेँ र दौडिँदै आमातिर गएँ तर आमाले आत्तिँदै “ल ल ! यता नछो है !” भन्दै मलाई परै बस्न भन्नुभो । अचम्म परेँ । आमाको छेउमा त सानो बच्चा पो सुतिरहेको । ठुल्दिदीले मेरो पाखुरामा समात्दै “त्यता नजा है ! छोइन्च । आमाले बैनी पाउनुभैच्च” भन्नुभो । मैले घुँडामा हात लगाएर वरैबाट त्यो बैनीलाई हेरेँ । कति सानी अनि कति राम्री ! साना आँखाले पिलिक्क गर्दै मलाई नै हेरे जस्तो लाग्यो । म त खुसीले फुरुक्क परिहालेँ । कतिखेर पाइहोलिन् आमाले यति राम्री बैनी ? म सुत्न जाँदासम्म त भाँडा माझ्दै गरेको देखेकी थिएँ ! 

अनि दिदीले बैनी पाएको कथा भन्न थाल्नुभो ।

आँपको रुखपट्टिको कोठामा सुतिरहनुभएका माइल्दाइले राति एक्कासि बच्चा रोएको सुन्नुभएछ अनि ठुल्दिदीलाई उठाएर तल झर्नुभएछ र बच्चा रोएको ठाउँतिर जाँदा त आमा सिन्दुरे आँपको फेदमा अडेस लागेर बस्नुभएको रे ! आमाको काखमा बच्चा रोइरहेको । दिदी र दाइ मिलेर आमा र बच्चालाई भित्र ल्याउनुभएछ अनि दिदीले आगो बालेर दुवैलाई सेक्न थाल्नुभएछ । दाइले झोल पकाएर खान दिनुभएछ । 

सुन्दै डर लागेर आयो । रातिमा एक्लै त्यसरी वन नजिकै पाखोमा गएर बच्चा पाउँदा बाघ आएर खाइदिएको भए ? आमालाई किन डर नलागेको होला ! मनमनै देउतालाई सम्झेँ । उनैले जोगाइदिए होलान् । आमाले राम्री बैनी पाइदिनुभएको थियो । त्यसरी एक्लै बाहिर गएर बैनी पाउनुको कारण चाहिँ बुझिनँ । आमाले पछिसम्म पनि भन्नुहुन्थ्यो– “पिसाब गर्न गएकी थिएँ, त्यहीँ जन्मिहाली ।” धेरै पछि पो थाहा पाएँ, हुर्किसकेका थुपै्र सन्तानको अगाडि प्रसव पीडामा छटपटिन मन लागेन रे ! 

कान्छी बैनीलाई भने माथिको घरमा जन्माउनुभयो । अब हामी तीन छोरा र छ छोरी भयौँ । आमा भन्नुहुन्थ्यो, “सबै बाँचेको भए पन्ध्रोटा पुग्थे ।” अलिपछि थाहा पाएँ, कान्छी बैनी जन्मेपछि बुवाले नेपालगन्ज पुगेर परिवार नियोजन गर्नुभएको रे ! सायद २०३३ सालतिर हो क्यारे ! त्यसपछि भने आमाले सोह्रौँ सन्तान जन्माउनु परेन ।  

माथिको घरमा आएपछि पनि बाघको डर कम भएन । झन् गाउँमा त राति राति गोठमा बाघ आउँथ्यो । कहिले कसकोमा, कहिले कसकोमा पसेर ससाना बाच्छाबाच्छी मारेर खाइदिन्थ्यो । हाम्रै गोठमा पनि पसेर एउटा भर्खरै जन्मेको पाडो लगिदियो । एउटा ठुलै भइसकेको बाच्छीलाई हामै्र आँखा अगाडि नङ्ग्राले घेक्रो फोडेर रगत पिएर गयो । बुवा मधेशतिर जानुभएको थियो । घरमा आमा र हामी दिदीबैनी मात्र थियौँ । गोठमा गाई भैँसीहरू जोड जोडले कराउन थाले । हामी लाल्टिन बालेर हल्ला गर्दै नजिकै गयौँ । हामीलाई देखेर रगत पिउँदै गरेको बाघ जोडले घुर्न थाल्यो । सबै मिलेर करायौँ । बाच्छीको रगत पिउँदै गरेको बाघलाई देखेर त्यो दिन डर लागेन । निकै हल्लाखल्ला गरेपछि बाघ त गयो तर बाच्छी भने रातभर छटपटायो र बिहानीपख म-यो । आमाले सतुवा घोटेर घाउमा लगाइदिनुभयो तर पनि बाँचेन । बाघले घाइते बनाएको बाच्छी कुरेर हामी रातभर लालटिनको उज्यालोमा पिँढीमा बसिरह्यौँ । बाघ पनि गोठभन्दा अलि पर बारीको डिलका बसेर रातभर आफ्ना टर्चलाइट जस्ता आँखाले घाइते बाच्छी र हामीलाई हेरि नै रह्यो र बिहानपख जब छटपटाउँदा छटपटाउँदै बाच्छीले प्राण त्याग्यो, बाघ पनि आफ्नो बाटो लाथ्यो । महिनौँसम्म मलाई बाघका ती टल्केका आँखाले झस्काइरह्यो ।  

गाउँको घरमा बसे पनि खेतीपाती गर्न त बेँसी नै झर्नुपथ्र्यो । खेतबारी वनकै छेउमा थियो । खेतबारीमा काम गर्दा खाजा लैजाने जिम्मा मेरै थियो । बर्खामा झ्वाम्म परेको निकै ठुलो खरबारी छिचोल्दै हिँड्नुपर्ने । कताबाट बाघ निस्केर खाने हो भन्ने डरले सधैँ मुटुले ढ्याङ्ग्रो ठोकिरहने । आखिर डर लागे पनि हिँड्नु त थियो नै एक्लै ! मेरो एक्लो यात्राको साथी उनै देउता थिए । उनलाई सम्झेपछि बाघ आउँदैन भन्नेमा ढुक्क हुन्थेँ र आरामले एक घण्टामा पुग्ने बाटो दस पन्ध्र मिनेटमै हिँडेर एकै पटक मेलोमा पुगेर सास फेर्थें । बाटोभरि हाम्रो परिवारले पुज्ने गरेका सबै देवीदेउताको नाम सम्झन्थेँ । बुवाले पूजा गर्ने गरेका ठाउँ ठाउँका भैरव, झाँव्रmी, नाग सबैलाई सम्झन्थेँ । यसो गर्दा गर्दा ती सबै नाम मिलेर एउटा मन्त्र जस्तै तयार भएको थियो ।

निकै पछिसम्म पनि मैले त्यो ‘मन्त्र’ जपि नै रहेँ । हाइस्कुल पढ्दा मधुवनको बिचबाटो भएर हिँड्नुपथ्र्यो । कुनै दिन एक्लै पर्दा दायाँबायाँ कतैबाट फुत्त बाघ निस्केर खान्छ कि भन्ने डरले मुटु बाहिरै निस्केला झैँ गरी उफ्रिन्थ्यो । पछि कलेज जाँदा पनि त्यो वनको बाघले भन्दा पनि मनको बाघले कति पटक खायो खायो ! नखाओस् पनि कसरी, कैयौँ पटक त जम्काभेट पनि भैहाल्थ्यो । हामी हिँडिरहेको बाटो काटेर लुसुक्क गैदिन्थ्यो हामै्र अगाडिबाट । धन्न केटासाथीहरू पनि सँगै हुनाले मुटु भने बाहिर निस्कन पाउँदैनथ्यो । फेरि मेरो ‘मन्त्र’ त मसँगै हुन्थ्यो सधैँ ।

त्यो अनकन्टार जङ्गलको बाटो भएर केटासाथीहरूसँग एक्लै पनि हिँडियो तर डर कहिल्यै लागेन उनीहरूसँग । उनीहरू त ‘मान्छे’ हुन्, केको डर ! कोही नभएर एक्लै जङ्गलको बाटो हिँड्दा पनि कहिल्यै “कुनै मान्छे आएर केही गर्ला कि ?” भन्ने डर लागेन । 

घरको दक्षिणपट्टि गोठ थियो । बाघले दुःख दिन थालेपछि “बाघको डोरो परेको” भन्दै बुवाले गोठलाई घरको उत्तरपट्टिको गरामा सार्नुभयो । त्यता सारेपछि भने गोठमा बाघ आएन । बरु हामीले घरभित्रै पालेर राखेको हर्केलाई समात्न दैलोमै आएर पटक पटक प्रयास ग¥यो । हर्के पनि कम थिएन । भोटेको बच्चा न थियो ! बाघलाई नै झम्टिन्थ्यो र भागिन्थ्यिो । हर्केले घरमा कसैलाई आउन दिँदैनथ्यो । बुवा बितेपछि हर्के नै हाम्रो सुरक्षा गार्ड थियो । गाउँका आवारा केटाहरूलाई हर्के पटक्कै मन परेको थिएन । हाम्रो बारीका फलफूल चोरेर खान बन्द भएको थियो ।  

एक दिन हर्के हरायो । निकै खोज्यौँ तर भेटिएन । कुकुर त जहाँ पुगे पनि एक दिन घर सम्झेर आउँछ भन्थे तर हर्के आएन । तेस्रो दिन कसैले खबर ल्यायो “हर्के त जङ्गलमा झुन्डिएको छ रे !” साँच्ची नै होरहेछ । हर्के मासुको लोभी थियो । आखिर कुकुर न प¥यो ! त्यही लोभ देखाएर उसलाई फकाएछन्, समातेछन् र जङ्गलको रुखमा लगेर झुन्ड्याएर मारिदिएछन् । हर्के मरेको देखेर निकै रोयौँ । हर्के मारिएपछि भने मलाई बाघको भन्दा मान्छेको डर लाग्न थाल्यो । 

वर्षौंपछि एक दिन म आफू जन्मेको, हुर्केको ठाउँ पुगेँ । बाघसँग डराउँदै आफैले तयार पारेको मन्त्र जप्दै एक्लै कुदेका वन, पाखा, खरबारीमा एक्लै हिँड्ने हिम्मत आएन । यस्तो लाग्यो, अब त्यहाँ बाघ होइन बाघभन्दा पनि हिंस्रक ‘लोग्नेमान्छे’ लुकेको छ र मौका पाउनासाथ उसले झम्टने छ । बस्ती उठेको सुनसान घरको पिँढीमा पुगेर केहीबेर बसेँ एक्लै । मनको दराजबाट अतितको किताब निकालेँ र एकएक पाना पल्टाउँदै गएँ । फेरि फर्केर नआउने ती सुन्दर र सुखद पलहरू एकएक गर्दै आँसु बनेर आँखाबाट बगिरहे । त्यो रित्तो घरमा बसुन्जेल पनि मान्छेकै डर लाग्यो र गह्रुँगा पाइला सार्दै आफन्तको घरतिर लागेँ । 

समयको म्याराथनमा बाघको ठाउँ मान्छेले लिन थाले । पाइला पाइलामा मान्छेकै डर लाग्ने ! बाघ त कता हरायो कता ! मान्छेले मान्छेमाथि गर्ने हिंसाका घटना छ्याप्छ्याप्ती हुन थालेपछि मान्छे मलाई बाघभन्दा पनि भयङ्कर हिंस्रक र रक्तपिपासु लाग्नथाल्यो । जहीँतहीँ मान्छेको डरले तर्साइरहन्छ मलाई । मान्छेले मान्छेलाई मारेका, बलात्कार गरेका घटना सुन्नुपर्दा अहिले पनि “हे भगवान् !” भन्न मन लाग्छ तर पनि कुनै ‘मन्त्र’ बनाउन सकेकी छैन आजसम्म ।  मधुपर्क