ललित बसेल
सुर्खेत, भदौ १२ गते । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–११, चिप्लेका किसान टोपेन्द्र रानाले भैँसी पालेर दुध मात्र होइन, गोबर मल बेचेर एक मौसममा साढे दुई लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउनुभएको छ । दुधका लागि पालिएका भैँसीको मल बेचेर उहाँले यो अतिरिक्त आम्दानी गर्न सफल हुनुभएको हो । हाल उहाँसँग अहिले ३१ वटा भैँसी छन् ।
रानाले दुधबाट मासिक एक लाख जति कमाइ गर्नुहुन्छ । दुधसँगै भैँसीको गोबर मल पनि बेचेर थप आम्दानी गर्न सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । मल पनि बिक्री हुन थालेपछि भैँसीपालन व्यवसायलाई विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार वर्षमा ४०
ट्याक्टरभन्दा बढी गोबर मल उत्पादन हुने गरेको छ । गोबर मल प्रतिट्याक्टर सात हजार रुपियाँमा बिक्री हुने गरेको छ ।
स्थानीय गाउँलेले नै मल किन्ने गरेको उहाँले बताउनुभयो । दुई महिनाको अवधिमा १० ट्याक्टर गोबर मल बेचेर ७० हजार थप आम्दानी भइसकेको उहाँले जानकारी दिनुभयो । गोबर मलको माग धेरै भएको बताउँदै उहाँले आफूले खेतबारीमा प्रयोग गरेपछि बचेको मल मात्र बिक्री गर्ने गरिएको जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि तीन वर्षसम्म कुवेत बस्नुभएका उहाँ कोभिडको बेला घर फर्किएर भैँसीपालन गर्नुभएको हो । आफूले गोबर मल बेच्न थालेको तीन/चार महिना भएको भन्दै भैँसीपालनबाट दुध, गोबर मल पनि बिक्री हुन थालेपछि आम्दानीमा पनि वृद्धि हुन थालेको उहाँको भनाइ छ ।
राम्रो कमाइ हुन थालेपछि कमाउनका लागि विदेश जानु नपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भैँसीका लागि खुवाउने घाँस पनि लगाउनुभएको छ । आफूलाई चाहिनेभन्दा बढी घाँस पनि बेच्ने गरेको जानकारी उहाँले दिनुभयो । यही भैँसीको दुध, गोबर मल, घाँसबाट आम्दानी हुन थालेपछि अब विदेशतिर नजाने उहाँले बताउनुभयो । दुध र मलबाट गजबको आम्दानी हुन थालेपछि चिप्ले गाउँका किसान घर घरमा भैँसी पालेका छन् । प्रत्येक किसानसँग कम्तीमा पाँचभन्दा बढी भैँसी पालेका छन् ।
टोपेन्द्रका अनुसार गाउँभरिबाट वर्षमा करिब दुई सय ट्याक्टर मल उत्पादन हुने गरेको छ । भैँसीको मल उत्पादनका लागि निकै राम्रो भएकाले अहिले गोबरको खोजी पनि बढिरहेको छ । उहाँले सिउँडी फल खेती गर्ने किसान, कृषि कलेजले गोबर मल खरिद गर्ने गरेको बताउनुभयो । भैँसीको गोबर मलको प्रयोग हुन थालेपछि अहिले गाउँतिर रासायनिक मलको प्रयोगमा पनि कमी आउन थालेको छ ।
उहाँले भन्नुभयो, “घर घरमा भैँसी छन्, सबै किसानले भैँसीको गोबर प्रयोग गर्छन्, गाईभैँसी नपाल्नेले किनेर भए पनि प्रयोग गर्ने हुँदा रासायनिक मलको प्रयोगमा कमी आउन थालेको छ ।”
लेकबेँसी नगरपालिका–१०, साटाफाँटका किसान हुमप्रसाद लामिछाने भैँसी पालेर आम्दानीको स्रोत बढेको बताउनुभयो । गोबर मल पनि बेचेर आम्दानी भएकोमा अचम्म मान्दै उहाँले गरे सफल हुन सकिने रहेछ भन्नुभयो । गोबर मलको प्रयोगले माटो पनि नबिग्रने, अन्नबाली पनि सप्रने भएकाले अचेल गाउँभरि गोबर मलको प्रयोग बढ्न थालेको उहाँको भनाइ छ ।
भेरीगङ्गाका कृषि प्राविधिक हस्त विकले किसानले गोबर मल बेचेर एकातिर आम्दानी बढाउन सफल भएको, अर्कोतिर वातावरण पनि राम्रो गराउन सफल भएको बताउनुभयो । गोबर मलको प्रयोगले खेतबारीको माटोबाट उब्जनी बढ्ने निश्चित रहेको भन्दै उहाँले सबै किसानमा अहिले गोबर मलको प्रयोग गर्नु पर्छ भन्ने चेतनासमेत बढेको उल्लेख गर्नुभयो ।
गोबर मल मात्र नभई गाईभैँसीको पिसाब पनि औषधीका रूपमा बिक्री हुने गरेको उहाँको भनाइ छ । विगतमा रासायनिक मलको अत्यधिक प्रयोग हुने स्थानमा अहिले गोबर मल प्रयोग गर्न थालिएको छ । गोबर मलको प्रयोग बढ्नुले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै रासायनिक मलको प्रयोगलाई समेत घटाएको अनुभव उहाँले गर्नुभयो ।
यसरी किसानलाई भैँसीपालन गरेर अतिरिक्त आम्दानी गर्न सिकाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले हो । जीवन धान्नलाई मात्रै एउटा/दुई वटा भैँसी पाल्ने किसानलाई प्राविधिक सहयोग तथा सहलगानी गरेर कार्यक्रमले व्यावसायिक बनाउन सिकाएको हो ।
कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका सञ्चार अधिकृत रत्नबहादुर बुढाले कृषि क्षेत्र विकास कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेपछि आफूहरूले व्यावसायिक रूपमा भैँसी पाल्न थालेको बताउनुभयो । उहाँका अनुसार किसानलाई भकारो निर्माण, दुध बोक्ने सामान र घाँस काट्ने मेसिन, औषधी, प्राविधिक तालिम, नस्ल सुधार तथा बिमालगायतका काममा सहयोग गरिएको छ । यस्तै कुल लगानीको आधा आधा रकम पनि कार्यक्रमबाट साझेदारी गरिएको छ ।
कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख वासुदेव काफ्लेले व्यावसायिक भैँसीपालनबाट किसान आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले कार्यक्रमले दुध मूल्य शृङ्खलाबाट पनि किसानले प्रभावकारी काम गरेको भन्दै जसबाट कृषकले आम्दानी गरी जीवनस्तरमा सुधार ल्याएको पाइएको दाबी गर्नुभयो । उहाँले गोबर मलको प्रयोगले कर्णालीमा प्राङ्गारिक खेतीतर्फ आकर्षित हुन सघाएको जनाउनुभयो ।