• १० भदौ २०८१, सोमबार

मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु

blog

सञ्चालनमा आएको राजमार्ग । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १० गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक खण्ड सुचारु गरिएको छ । आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको बस निकाल्न बिहान ७ः४५ बजेबाट बन्द गरिएको सडक आठ घण्टापछि सुचारु गरिएको हो ।

पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्न यातायात बन्द गरिएको थियो ।

बस निकालेपछि दिउँसो सवा ३ बजेबाट यातायात सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । उक्त दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नका लागि ठुला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधनहरू पूर्णरुपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।  

ऐनापहरा भारतीय पर्यटक रहेको बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए । राजमार्ग अबरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । बिहानको समयमा सवारी चाप कम हुने भएकाले यातायात अबरुद्धगरी बस निकाल्ने काम गरिएको जनाइएको छ । 

सो खण्डमा वैकल्पिक बाटो नहुँदा यात्रुहरू अलपत्र परेका थिए । यातायात सुचारु भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।