• १० भदौ २०८१, सोमबार

रुसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण : तीनको मृत्यु

blog

किएभ, भदौ १० गते । रुसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रुसको ठुलो आक्रमण हो । युक्रेनी वायु सेनाका अनुसार रुसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।

आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताउनुभएको छ  । 

युक्रेनको पश्चिमी सहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको बताउनुभयो ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताउनु भयो ।

जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताउनु भयो । 

युक्रेनको निजी ऊर्जा कम्पनी डिटेकेले “आपत्कालीन ब्ल्याकआउट” को घोषणा गर्दै  विज्ञप्ति मार्फत  “देशभरका ऊर्जा कामदारहरूले युक्रेनीको घरमा ऊर्जाको पुनर्स्थापना गर्न लागि पर्न निर्देशन दिनु भयो ।

सेनाले आक्रमण पछि छिमेकी देश पोल्यान्डमा, देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ । रासस/एपी