• १० भदौ २०८१, सोमबार

विद्यालयस्तरीय तिज गीत प्रतियोगिता

blog

विद्यालय तिज गीत प्रतियोगितामा सहभागी विद्यालयका भाइबहिनी । तस्बिरः मीना कंडेल

मीना कंडेल

कावासोती, भदौ १० गते । नवलपुरमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालयस्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको छ । नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्षझैँ यो वर्ष पनि श्री कृष्ण जन्माष्टमी उत्सव गरेर राष्ट्रिय भजन, शंखध्वनि र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको हो । 

संविधानसभा सदस्य एवम् हाल गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसिले कार्यक्रमको उद्घाटन गर्दै तीज गीतका नाममा छाडा गीत, रत्यौली लगायतका संस्कृतिभन्दा बाहिरको विषय हाबी भएको बताउनुभयो । तिज पर्व र तिज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तिज गीत प्रतियोगिता आवश्यक रहेको उहाँको सुझाव छ ।  

पछिल्लो समय तिज गीत सुन्न नसकिने खालका भड्किला हुँदा परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । नवलपुर एफएमका संस्थापक स्व. पत्रकार तीर्थराज भुसालले समाजमा भएका विकृतिलाई न्यूनीकरण गर्न गरेको योगदानको चर्चा गर्दै उहाँको सम्झनामा गरिने हरेक कार्यक्रमले समाजमा प्रभाव पार्ने बताउनुभयो ।

कावासोतीमा रहेको नवलपुर एफएमका संस्थापक स्व. पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्ट र नवलपुर एफ एम १०४.७ मेगाहर्जको संयुक्त आयोजनामा धर्म, संस्कृति संरक्षणका लागि भजन प्रतियोगिता, सवारी दुर्घटना एवं अकालमा ज्यान गुमाउनेको मोक्ष प्राप्तिका लागि शंखध्वनि प्रतियोगिता र महिला दिदीबहिनीको सम्मानका लागि विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सञ्चालन गरिएको एफएमका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

विद्यालयस्तरीय तिज गीत प्रतियोगितामा २१ समूह, शंखध्वनि प्रतियोगिता (व्यक्तिगत रूपमा सहभागी) १२ जना, भजन प्रतियोगायतामा १० समूह रहेर प्रतियोगिता सञ्चालन भएको छ  । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने र तिज गीत प्रतियोगायतामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको एफएमका कार्यकारी निर्देशक राधिका भुसालले जानकारी दिनुभयो ।