• १० भदौ २०८१, सोमबार

बाँध फुटेर बस्ती डुब्ने त्रास

blog

अनधिकृतरुपमा नहरको बाँधमा बसेको बस्ती । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, भदौ १० गते । नदी नियन्त्रण गर्न तथा नहर छेउमा बनाइएको बाँध अतिक्रमण गरी बसोबास गरेपछि बाँध फुट्न सक्ने र नजिकैको बस्ती डुब्न सक्ने त्रास बढेको छ । रौतहटको चाँदी नदी नियन्त्रण गर्न बनाइएको बाँध र रौतहटकै दक्षिणी भेगमा सिँचाइ सुविधा उपलब्ध गराउन बनाइएको पूर्वपश्चिम मुख्य नहरको ड्याममा अनधिकृत रूपमा बस्ती बसेपछि ड्याम कमजोर भई फुट्न सक्ने र नजिकैको बस्ती डुब्न सक्ने त्रास बढेको हो । 

चाँदी नदीको कटान नियन्त्रण गर्न चन्द्रपुर नगरपालिका–५ मा निर्मित बाँध अतिक्रमण गरी घरटहरा बनाएको छ । अतिक्रमणले बाँध कमजोर भएर ठुलो बाढी आउँदा फुट्न सक्ने सम्भावना बढेको वडाध्यक्ष नीलहरि कोइरालाले बताउनुभयो । उहाँका अनुसार बाँध फुट्यो भने नजिकैको बस्ती डुब्ने खतरा छ। अनधिकृत रूपमा बसेका बाँधको बस्ती हटाउन स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ । 

२०५० सालमा आएको चाँदी नदीको बाढीले क्षति पुर्‍याएको स्थानमा बनाइएको बाँधमा पछिल्लो समय आफूलाई सुकुम्वासी बताउने केही मानिसले घरटहरा बनाई बसोबास गरेका हुन् । बाँधमा डेढ दर्जन घरटहरा खडा छन् । पूर्व–पश्चिम राजमार्गसंग जोडिएको चाँदी नदीको पुलदेखी उत्तर र दक्षिण क्षेत्रमा रहेको बाँधमा बसोबास गरेका कथित सुकुम्वासीलाई वडा कार्यालयले सो स्थानबाट हटाउने प्रयास गर्दा उनीहरू प्रतिकारमा उत्रेपछि स्थानीय प्रशासनलाई पत्राचार गरेको वडाध्यक्ष कोइराला बताउनुहुन्छ । अहिलेसम्म अतिक्रमित क्षेत्र खाली गराउन सकिएको छैन । 

यता आफूसँग एक धुर पनि जमिन नभएकोले वासस्थानको लागि बाध्य भएर नदीको बाँधमा घरटहरा बनाई बस्नु परेको बस्तीका बासिन्दा बताउँछन् । स्थानीय सरकारले बसोबासको व्यवस्था अन्यत्र मिलाई दिएमा बाँधबाट हट्ने उहाँहरू बताउनुहुन्छ । 

यस्तै रौतहटको दक्षिणी भेगका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन बनाइएको पूर्व–पश्चिम नहरको ड्याममा पनि अनधिकृतरुपमा बस्ती बस्ने क्रम रोकिएको छैन । चाँदी नदीको पुलदेखि दक्षिण तर्फ रहेको नहरको ड्यामबाट चन्द्रपुर–६ बेल्डी क्षेत्रसम्म बाक्लो बस्ती बसेको छ । साना टहरादेखि पक्की घरसम्मका बस्तीले नहरको जमिन अतिक्रमण गरेका छन् । बस्तुभाउ पाल्नेदेखि तरकारी खेती गर्न ड्याम नै प्रयोग गरेका छन् । 

अतिक्रमणले नहर नजिक रहेको खेतबारीमा आवतजावत गर्न, कृषि औजार तथा कृषि यन्त्र लैजान र ल्याउन किसानलाई ठुलो समस्या परेको बेल्डी खेत भएका किसान कालु गौतमले गुनासो गर्नुभयो । उहाँका अनुसार मुलुकको विभिन्न स्थानबाट बसाइँ सरी नहरको दायाँबायाँ कब्जा गरी बसेपछि नहरछेउका किसान मर्कामा परेका छन् । 

बागमती सिँचाइ परियोजनाले पूर्वी तथा पश्चिमी मूलनहर, शाखा, प्रशाखा र टसैरी नहरको रेखाङ्कन जग्गाभित्र बनाएका स्थायी, अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन पटक पटक सूचना गरेपनि न त बस्ती नै हटेको छ, न अतिक्रमण नै रोकिएको छ ।

बागमती नदीमा पानी थप गर्ने उद्देश्यले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजना कार्यान्वयनको प्रक्रियामा अघि बढेकोले नहर अतिक्रमण गरी बनाइएका संरचना हटाउन पनि प्रक्रिया अघि बढेको बागमती सिँचाइ परियोजना कार्यालयका प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नहरको डिलमा बनाइएका संरचनाकै कारण नहर मर्मत र सफा गर्दा कतिपय स्थानमा मेसिन प्रयोग गर्न समेत समस्या भएको छ ।