• १३ वैशाख २०८२, शनिबार

कागज उद्योगमा जम्दै मधेशका महिला

blog

कागज उद्योगमा रोजगारी पाएपछि खुशी भएका महिला दिदीबहिनीहरु । तस्बिर : अमृत कुमार महतो

अमृत कुमार महतो
बिजलपुरा(महोत्तरी), वैशाख १२ गते ।
अब विस्तारै मधेशका महिला दिदिबहिनीहरुको दिनचर्या फेरिँदै गएको छ । चुलोचौका सिमित महोत्तरीका महिलाहरु  कागज उद्योगमा जागिर गरिरहेका छन् । यसले गर्दा मधेशका महिलाहरुको जीवन फेरिएको छ ।

गौशाला नगरपालिका—८ कुसमारी घर हुनुभएको फूल कुमारी साह हरेक दिन खाना बनाएर उद्योग तिर काम गर्न जानुहुन्छ । बिहानै उठ्ने वित्तिकै साहलाई हतारो हुन्छ । उहाँ घर नजिकै खुलेको देशकै ठुलो कागज उद्योग काम गर्नुहुँछ ।

घुम्टोबाट बाहिर निस्किएर सधैँ गाउँको बाटो भएर फूल कुमारी उद्योगमा जानुहुन्छ । यो मधेशका लागि ठुलो समाजिक रुपान्तरण रहेको तराई मधेश सांस्कृति अनुसन्धान प्रतिष्ठान बर्दिबासका अध्यक्ष राजकरण महतो सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘मधेशका महिलाहरु घरमा एक प्रकारले जेलको बन्दी जस्तै घुम्टो भित्र बन्द छन् । अब त्यो बन्द ढोकाहरु महिलाहरुले तोड्दै समाजमा उदाहरणीय काम गरिरहेका छन् । त्यसैको उदाहरण फुल कुमारीहरु हुन् ।’’

गाउँमै उद्योग खुलेपछि फूल कुमारीलाई रोजगारी प्राप्त भएको हो । बिहान ८ देखि साँझ ५ बजेसम्म उहाँ उद्योगमा कागज मिलाउने काममा व्यस्त रहनुहुन्छ । महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित इटाटारमा नीजि क्षेत्रको लगानीमा नेपाल पल्प एण्ड पेपर ईण्डष्ट्रिज सञ्चालित छ ।

गत फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको उद्घाटन गर्नुभएको थियो । दुई अर्बभन्दा बढी लगानीमा आईएमई ग्रुपले उद्योग सञ्चालन गरेको उद्योगपति चन्द्र ढकालले बताउनुभयो ।

मधेशमा महिला दिदीबहिनीहरु अझै घुम्टो भित्र खुम्चिएर बस्नु परेको पीडालाई उद्योगले बिर्साइदिएको फूल कुमारी सुनाउनुभयो । उहाँ खुशी हुँदै भन्नुहुन्छ, ‘‘मैले उद्योगमा कात्तिक महिनादेखि काम गरिरहेको छु । दैनिक ८ घण्टा काम गर्छु । एक घण्टा ओभर टाईम दिन्छु । दिनको साढे चार सय ज्याला पाइन्छ ।’’

फूल कुमारी यस अघि दैनिक खेति किसानीको काममा ज्याला मजदुरी गर्नुहुन्थ्यो । गाउँमै उद्योग खुलेपछि जीवन फेरिएको उहाँ सुनाउनुहुन्छ । गाउँतिर खेतिकिसानीको सिजनमा मात्रै काम पाइन्छ । अन्य समय बिहान बेलुकाको छाँक कसरी टार्ने भन्ने चिन्तामा फूल कुमारी पर्नुहुन्थ्यो । तर अहिले गाउँमै कागज उद्योग खोलेपछि दुःखको दिन गएको उहाँको भनाइ छ ।

उहाँ मात्रै होइन् उहाँसँगै उद्योगमा ३९ वर्षीया फुल कुमारी राउत पनि काम गर्नुहुन्छ । उद्योगले उहाँलाई परिवार पाल्न निकै सहज भएको छ । बच्चाहरुलाई बिहान खाना पकाएर खुवाएपछि घर बाहिरको दैनिकी उहाँको सुरु हुन्छ । खाना खाएर दिउँको खाजा लिएर उद्योगमा बिहान उहाँ काम गर्न प्रवेश गर्नुहुन्छ ।

उद्योगको कमाइले उहाँको चुलो मात्रै बलेको छैन, पाँच जना सन्तानहरुलाई शिक्षादिक्षा र पालन पोषणमा सहयोग पुगेको छ । उहाँ भन्नुहुन्छ, ‘‘साना व्यपारीले उद्योगमा पुराना कागजहरु सङ्कलन गरेर ल्याउँछ । हामी त्यसलाई रङ र साइजको आधारमा छुट्याएर थाक लगाएर राख्छौं । मैले सिकेको काम अरुलाई पनि सिकाउने गरेको छु ।’’

उद्योगले कादारलाई हरेक महिनाको २५ गते तलब दिने गरेको छ । अब फूल कुमारी राउतलाई गुणस्तरीय जीवन बाँच्न योजना बनाउन पनि सहज भएको छ । उहाँका अनुसार उद्योगमा तीन सय कामदार मध्य एक सयको सङ्ख्याका महिलाहरुले काम गरिरहेका छन् ।

यसैगरी, धनमति पासवानलाई पनि फुल कुमारीहरु जस्तै अहिले चुलो बाल्न सजिलो भएको छ । उद्योगमा रोजगारी पाएपछि उहाँको हातमा मासिक १३ हजार पाँच सय रुपियाँ पर्छ । यो उहाँले दैनिक साढे चार सय कमाउँदाको हिसाब हो ।

उहाँ भन्नुहुन्छ, ‘‘पहिला तातो घाममा काम गर्नुपर्थ्यो । अहिले महिनै पिच्छे तलब पनि आउँछ, आरामले काम पनि गर्न पाइएको छ । रमाइलो भयो जीवन ।’’

नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले महिला दिदिबहिनीहररुलाई मात्रै होइन् देशलाई आत्मनिर्भर बनाउने विश्वास काम गरेको छ  । उद्योगले देशको आर्थिक अवस्था सुधार हुने पक्कापक्की भएको बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्काले बताउनुभयो । उहाँका अनुसार यो कागज उद्योग स्थापना भएसँगै बाहिर फालिएको कागज सङ्कल गरेर फेरी नयाँ कागज बनाएर आयात घटाउन सहयोग पुग्नेछ ।

नेपालमा वार्षिक करिब ढेड लाख मेट्रिकटन कागज खपत हुने गरेको छ । सरकारी स्तरको भृकुटी कागज उद्योग बन्द भएपछि नेपालमा बाहिरबाट कागज ल्यानु परेको बाध्यता अब स्थापित कागज कारखानले अन्त्य गर्ने विश्वास लिइएको छ ।

घरेलु उद्योग, ठुला उद्योग स्थापना गरेर महिलालाई रोजगारमा जोड्नु पर्ने मुख्य आवश्यकता रहेको  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘मधेशका युवाहरु बैदेशिक रोजगारीमा जान्छन्, घरमा रहेका महिलाहरुलाई उद्यममा जोड्न सक्यो भने देशको आर्थिक अवस्थामा छिट्टै सुधार हुन्छ ।’’ मधेश प्रदेश कृषि तथा औद्योगिक क्षेत्रका लागि उर्बर क्षेत्र रहेको मुख्यमन्त्री सिंहको भनाइ छ ।

तीन वर्षको अथक प्रयासले मधेशको महोत्तरी जिल्लाको गौशालास्थित रामनगर ईटाटारमा आइएमई ग्रुपले कागज उद्योगमा अर्बौं लगानी गरेको हो । यहाँ देशकै ठुलो चिनी उद्योगसँगै कागज उद्योग पनि खुलेको छ । उद्योगपति चन्द्र ढकालले फोहरको रुपमा रहेको पुराना कागज सङ्कलन गरेर फेरि नयाँ कागज बनाउने कामले विदेशबाट आयात हुने कागजलाई रोक्ने बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘‘देश विकासका लागि नीजि क्षेत्रले चालेको कदममा सरकारको दरो साथ चाहिएको छ । सरकारले अध्यादेश मार्फत भए पनि देशमा लगानीको अवस्था बनाएको छ ।’’ उद्योगपतिहरुमाथि सबैले सकारात्मक भावले हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।