• ४ जेठ २०८१, शुक्रबार

उपप्रमुखमा पाँच महिलाको उम्मेदवारी

बूढानीलकण्ठ नगर प्रमुखमा १५ जनाको प्रतिस्पर्धा

blog

काठमाडौं, वैशाख २५ गते। स्थानीय तहको निर्वाचनका लागि काठमाडौं बूढानीलकण्ठ नगर प्रमुखमा राजनीतिक दल र स्वतन्त्र गरेर १५ जनाको उम्मेदवारी परेको छ। नगर प्रमुखमा सत्ता गठबन्धनका दलका तर्फबाट चार, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक र लोकतान्त्रिक समाजवादी पार्टीे एक जना उम्मेदवार छन्। अन्य दल र स्वतन्त्र गरेर प्रमुख पदमा १५ जनाको उम्मेदवारी परेको हो।

कांग्रेसका चालिसे

बूढानीलकण्ठ नगर प्रमुखमा नेपाली कांग्रेसका विनोद चालिसे उम्मेदवार हुनुहुन्छ। नगरको उपप्रमुखमा भने रमिला वाग्लेको उम्मेदवारी रहेको छ। कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, २०४६ सालको जनआन्दोलनमा शैक्षिक, समाजिक गतिविधि हुँदै राजनीतिमा सक्रिय उहाँ समृद्ध र समुन्नत नगरको रुपमा बूढानीलकण्ठलाई विकास गरिनुपर्ने बताउनुहुन्छ।

घरदैलो कार्यक्रमको क्रममा यो सपना साकार पार्न दलबीच साझा धारणा बनाउने संकल्प रहेको छ। जनताको जनजीविकामा सुधार गर्ने, समृद्धिका लागि गाउँ–गाउँ र टोल–टोलमा आम नागरिक, ज्येष्ठ नागरिक र युवादेखि सबै मतदाताबाट थप ऊर्जा प्राप्त भएको अनुभव उहाँको छ। बस्न र घुम्न लायकको नगरको रुपमा धर्म, संस्कृति र सामुदायिक शिक्षा तथा स्वास्थ्यको गुणस्तरीयता आफ्नो प्रमुख प्राथमिकतामा पार्ने उहाँ बताउनुहुन्छ। केन्द्रीय तहमा गठबन्धनबीच सहमति भए पनि स्थानीय तहमा त्यो पहुँचभन्दा बाहिरको विषय भएको बताउनुहुदै उहाँले दल भन्दामाथि उठेर बूढानिलकण्ठ नगरको विकासका लागि साझा दृष्टिकोण बनाएर अघि बढ्ने बताउनुभयो। 

माओवादी केन्द्रका अधिकारी

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका डम्बरप्रसाद अधिकारी बूढानीलकण्ठ नगर प्रमुखको उम्मेदवार हुनुहुन्छ। यसैगरी, उपप्रमुखमा कमला गौतम हुनुहुन्छ। ‘‘घरदैलो कार्यक्रममा जनताको अपार समर्थन प्राप्त गरिरहेका छौं, मत मागिरहेका छौं। समग्रमा समृद्धि र विकास, भ्रष्टाचार उन्मूलन प्राथमिकताका विषय हुन्।’’ जसको नीति, उसकै नेतृत्व भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य र रोजगारका आधारभूत आवश्यकतामा जोड दिइने उहाँको प्रतिवद्धता छ।

कीकृत समाजवादीका श्रेष्ठ

बूढानीलकण्ठ नगरपालिका प्रमुखमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का बालकृष्ण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ। नगरको उपप्रमुखमा प्रमिला सापकोटा (रिमाल) प्रतिस्पर्धामा हुनुहुन्छ। कुनै पनि व्यक्ति, संघ, संस्था विधिसंगत रुपमा चल्नुपर्ने विचार आफ्नो रहेको श्रेष्ठको भनाइ छ।  ‘‘देशको कानुन, संविधान अनुरुप हरेक सदस्य, पदाधिकारी चल्नुपर्छ भन्ने मेरो मान्यता हो, प्रतिगमनको विरुद्धमा मेरो उम्मेदवारी हो’’, उहाँले भन्नुभयो। नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक पक्ष र क्षेत्रको विकास हुनुपर्ने उहाँको भनाइ छ। 

बूढानीलकण्ठ पर्यटनको सम्भावना भएको ठाउँ भएकोले हरियाली प्रवद्र्धन र पर्यावरणको विषय पनि मुख्य रहेको उहाँ बताउनुहुन्छ। यसका साथै कर्मचारीलाई उत्साहित रुपमा काम गर्नसक्ने वातावरण निर्माण गर्नुपर्ने, हतोत्साहित गर्न नमिल्ने तर जे सुकै गर भनेर छोड्नु पनि नहुने उहाँको भनाइ छ। 

राष्ट्रिय जनमोर्चाका खनाल

सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाको तर्फबाट बूढानीलकण्ठ नरगपालिका प्रमुखमा छविबहादुर खनालको उम्मेदवारी दिनुभएको छ। जनमोर्चाबाट उपप्रमुखमा उम्मेदवारी परेको छैन। जनतामा बढेको कर नियन्त्रण, पूर्वाधार निर्माणका विषयलाई प्राथमिकतामा राखिने खनालको प्रतिवद्धता छ। ‘‘गठबन्धनबीच स्थानीय तहमा तालमेल मिलिरहेको छैन, यो हाम्रो मात्र समस्या नभएर देशकै समस्या हो। पार्टीको निर्देशन, नीति र लाइनभन्दा बाहिर जानु हुँदैन’’, उहाँले बताउनुभयो। 

एमालेका अधिकारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का तर्फबाट बूढानीलकण्ठ नगरपालिकाको प्रमुख पदमा मिठाराम अधिकारी प्रतिस्पर्धामा हुनुहुन्छ।  यस्तै उपप्रमुखमा अनिता लामाको उम्मेदवारी परेको छ। अधिकारीले जनताको आधारभूत आवश्यकता पुरा गर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्ने, गरिबी, असमानता र भेदभावको अन्त्य, राष्ट्र र राष्ट्रियको रक्षा, समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। 

लोसपाका विश्वकर्मा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सिताराम विश्वकर्मा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेदवार हुनुहुन्छ। स्थानीय तहमा पूर्वाधार विकाससँगसँगै विभेदरहित समाज निर्माण हुनुपर्ने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको विश्वकर्मा बताउनुहुन्छ। लोसपाले उपप्रमुखमा उम्मेदवारी दिएको छैन। 

‘‘लोसपाको हिजो तराईमा मात्रै भोट बैंक थियो। क्षेत्रीय पार्टी थियो अबको पाँच वर्षमा राष्ट्रिय पार्टी स्थापना गर्न सकियो भने पनि ठूलो कुरा हो’’, उहाँले भन्नुभयो। समाज विस्तारै सुधार भएपछि अरु सबै राम्रो ह्ने उहाँको विश्वास छ। हिजो गाउँले परिवेशबाट सहरसम्म आइपुग्दा सहरमा झनै सामाजिक सद्भाव र सहयोगको भावना कम भएको उहाँ बताउनुहुन्छ। ‘‘वृद्धवृद्धाको छोराछोरी बाहिर छन्, समाज बदल्न आफैं लाग्नुपर्ने हुनाले आगामी दिनमा के कति गर्न सकिन्छ, कामबाट देखाउनुपर्छ’’, उहाँले थप भन्नुभयो। 

बूढानीलकण्ठ नगर उपप्रमुखमा छ उम्मेदवारमध्ये एमालेकी अनिता लामा, काँग्रेसकी रमिला वाग्ले, माओवादी केन्द्रका कमला गौतम, एकीकृत समाजवादीकी प्रमिला सापकोटा (रिमाल) र राष्ट्रिय प्रजातन्त्र पार्टीका चम्पा देवी अधिकारीबीच प्रतिस्पर्धा हुने देखिन्छ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।