• १० भदौ २०८१, सोमबार

बेनी–मालढुङ्गा सडक : ढुङ्गाको लोभमा पहरा काट्दा पहिरोको जोखिम

blog

सडकखण्डको केराबारीमा खसेको पहिरो पन्छाइदै । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ १० गते ।
 राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने केराबारीमा आयोजना र ठेकेदारको लापरबाहीका कारण नयाँ पहिरो उत्पत्ति भएपछि जोखिम बढेको छ ।

सडक विस्तारका क्रममा निर्माण कम्पनीले ढुङ्गाको लोभमा बेनी–मालढुङ्गा सडकखण्डको पर्वतको जलजला गाउँपालिका ७ केराबारीस्थित भिरमा डोजर लगाएर ढुङ्गा निकालेका कारण पहिरो खस्न थालेको हो । यो स्थानमा यसअघि पहिरो थिएन । भौगोलिक अवस्थाको अध्ययन नगरी जथाभाबी भिर काट्दा विगत दुई वर्षदेखि उक्त स्थानमा नयाँ पहिरो सिर्जना भएको हो ।

पहिरोका कारण अहिले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकको उक्त खण्डमा दैनिक रूपमा यातायात अवरुद्ध हुने गर्दछ । सडकदेखि करिब पाँच सय मिटरभन्दा माथिसम्मको पाखोबाट ठुला–ठुला ढुङ्गासहितको पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण दैनिक रूपमा सयौँ सवारीसाधन र यात्रुहरू जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । 

आयोजनाले भौगोलिक अवस्थाको अध्ययन नगरी भिर फुटालेर ढुङ्गा निकाल्दा पहिरो खस्ने जोखिम नभएको स्थानमा नयाँ पहिरो सिर्जना भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । भिर फुटालेर ढुङ्गा निकाल्दा भविष्यमा निम्तीन सक्ने सम्भावित जोखिमको अध्ययन नभएको उहाँको भनाइ छ ।

सडक माथिको पाखोबाट पहिरो खस्दा दुई वर्षदेखि दैनिक रूपमा सडक अवरुद्ध हुँदै आएको छ । बर्खा सुरु भएदेखि उक्त स्थानमा पहिरो खसेका कारण करिब १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको जलजला गाउँपालिकाका नगर प्रहरी प्रमुख साजन परियारले बताउनुभयो ।

उहाँका अनुसार बास्कोटको भिरको झरासम्म पहिरो विस्तार भएर पुगेको छ । ‘‘धेरै माथिदेखि पहिरो खसिरहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि एकैछिनमा फेरी पहिरो खस्छ । ढुङ्गासहितको पहिरो खस्ने क्रम नरोकिएकाले आवतजावतमा जोखिम छ,’’ नगर प्रहरी प्रमुख परियारले भन्नुभयो ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे योजनाका लागि आवश्यक पर्ने ढुङ्गा निकाल्न निर्माण कम्पनीले सडकदेखि माथि रहेको भिर दुईवर्ष अघि डोजर लगाएर फुटालेको थियो । उक्त भिर केही निजी र सार्वजनिक पर्दछ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सरोकारवाला पक्षहरूलाई आर्थिक प्रलोभनमा पारेर ठेकेदार पक्षले भिर फुटालेको स्थानीयहरूको भनाइ छ । पहिरो खस्न थालेलगत्तै स्थानीयवासीहरुले विरोध जनाएपछि कुस्मामा बसेको सर्वपक्षीय बैठकले भिर फुटाल्ने कार्यमा रोक लगाएको थियो ।

कालिगण्डकी तीरमा टेवा पर्खाल लगाएर सडक चौडा पार्ने विकल्प भए पनि आयोजनाले ढुङ्गा निकाल्न भिर खन्दा नयाँ पहिरो खसेको भएको जलजला गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कालिगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाउँदा ठेकेदारले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गाको जोह गर्न भिर काटेको थियो । अलिकति भिर काटे लगत्तै पहिरो खस्न थालेपछि विरोध पश्चात् रोकियो । भौगोलिक रूपमा अध्ययन नगरी काम गर्दा नयाँ पहिरो बन्यो ।’’

निरन्तर रूपमा पहिरो खसेका कारण सडक अवरुद्ध हुँदै आएको छ । पहिरोको जोखिम भएकाले वर्षा भएका बेला र रातका समयमा सवारी साधन नचलाउन प्रशासनले अनुरोध गरेको छ ।