• १० भदौ २०८१, सोमबार

पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडकखण्डको अवरोध कायमै

blog

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा रोकिएका सवारी साधन । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १० गते । यहाँ दुर्घटनामा परेको बस निकाल्नको लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द भएको छ । सोमबार बिहानबाट बन्द भएको हो ।

तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रवार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्नको लागि यातायात बन्द गरिएको प्रहरीले जनाएको छ । बिहान ७ः४५ बजेबाट निकाल्न लागिएको र चार घण्टा देखि पाँच घण्टा समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । उक्त दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नको लागि ठुला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधनहरू पूर्णरुपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।  ऐनापहरा भारतीय पर्यटक रहेको बस मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

यस खण्डमा वैकल्पिक मार्ग नहुँदा यात्रु समस्यामा परेका छन् ।  सवारी साधनको चाप कम हुने समयमा पारी यातायात अवरुद्ध गरी बस निकाल्ने काम गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी बिहान ६ः३० बजेबाट यातायात बन्द हुने सूचना जारी गरेको थियो ।