• ९ भदौ २०८१, आइतबार

गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ ९ गते । जिल्लाको चम्पादेवी गाउँपालिकाले गाउँ गाउँ पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर गाउँ गाउँका जनतालाई स्वास्थ्य सेवा दिएको हो । 

पालिकाको सबै वडामा सञ्चालन हुने गरी घुम्ती स्वास्थ्य शिविर र सचेतनाको कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । पहिलो दिन वडा नं. १० रानीवनमा सञ्चालन भएको स्वास्थ्य शिविरमा १०२ जना र दोस्रो दिन वडा नं. ६ घोराखोरीमा सञ्चालन भएको शिविरमा १२५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । 

शिविरमार्फत् दन्त रोगको उपचार, मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई परामर्श तथा औषधि वितरण र दिर्घरोगीहरुले नियमित सेवन गर्दै आएको औषधी वितरण गरिएको स्वास्थ्य शाखाका सिनियर अहेव ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । जङ्क फुड (पत्रुखाना) को सट्टामा बालबालिका र सबैले स्थानीय खानेकुरा खानुपर्ने लगायतका विषयमा नागरिकलाई स्वास्थ्य सचेतना दिइएको छ । 

यसका साथै चम्पादेवी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई झोला वितरण गरेको छ । पालिकाको सबै वडामा रहेका सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई कार्य सम्पादनमा सहजताका लागि झोला वितरण गरिएको हो । 

गाउँपालिकाको विभिन्न वडामा रहनु भएका सम्पूर्ण ७७ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई उपयोगी झोला वितरण गरिने अहेव बस्नेतले जनाकारी दिनुभयो । घुम्ती शिविर सञ्चालनकै अवसरमा पालिकाको वडा नं.१० रानीवन बाट स्वयम् सेविकालाई झोला वितरण थालिएको हो । 

गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष दिलमाया मगर, प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी लगायतको उपस्थितिमा स्वास्थ्य शिविरको उद्घाटन गर्नुका साथै स्वयम् सेविकाहरूलाई झोला वितरण कार्यक्रमको पनि सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।