• ९ भदौ २०८१, आइतबार

विपन्न परिवारको घरमा धारा

blog

मध्यविन्दु –१२ मुसहरवस्तीमा जडान गरिएको धारा ।

मीना कंडेल

कावासोती, भाद्र ९ गते । नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनुभएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो ।

घरमै धारा जडान भएर धाराको पानी खान पाउँदा आफू खुशी भएको उहाँको भनाइ छ । गाउँमा खानेपानी योजना निर्माण भएर घर–घरमा धारा जडान भएपछि मोनिका मात्र हैन, त्यस गाउँका सबै नागरिक खुसी छन् । मध्यविन्दु –१२ मा अवस्थित माझी, मुसहर र बोटे समुदायको ६० घरमा धारा जडान गरिएको छ । 

यहाँ बसोबास गर्ने तीनसय ५० जना नागरिक प्रत्यक्ष रुपमा लााभान्वित भएको नगरपालिकाले जनाएको छ । उपभोतmा समितिका अध्यक्ष डिलबहादुर मुसहरले खानेपानी आयोजना सञ्चालनमा आएपछि सफा पानी खान पाउँदा धेरै खुसी लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले शुद्ध बोरिङबाट आएको पानी खाने गरेका छौं । लामो समयसम्म यहाँका बासिन्दा शुद्ध खानेपानीबाट वञ्चित भएका थिए । खोला, इनार र ट्युवेलको पानी खाँदैआएको अवस्थामा नगरपालिकाले मुसहर बस्तीमा धारा जडान गरिदिएपछि अहिले घरमै आएको धारामा सफा पानी खान पाएका छौँ ।”

नगरप्रमुख भीमलाल अधिकारीले नगरपालिका भित्र रहेका नागररिकले शुद्ध खानेपानीबाट बञ्चित हुन नपरोस् भनी मुसहरवस्तीमा धारा जडान गरिएको बताउनुभयो । चार लाख ७४ हजार पाँचसय ७३ को लागतमा ट्याङ्की निर्माण गरिएको उहाँले बताउनुभयो । जसमा नगरपालिकाबाट चार लाख, जनसहभागिताबाट २० हजार, जनश्रमदानबाट ५४ हजार ५७३ लगानीबाट मुसहर टोल खानेपानी विस्तारको आयोजनामार्फत खानेपानी ट्याङ्की निर्माण गरी मुसहरबस्तीमा धारा जडान गरिएको बताउनुभयो । 

गाउँमा रहेका अति विपन्न परिवारका लागि खानेपानी उपभोक्ता समिति स्थापना भएको छ धाराको पानी खान थालेपछि शारीरिक स्वस्थता समेत बढ्ने उहाँले बताउनुभयो । यसअघि नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेको छ । पालिका र नागरिक आवाज संस्थाको सहयोगमा मध्यविन्दुका १८६ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । 

स्वास्थ्य शाखा प्रमुख जायेश्वर भुसालले आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको माझी मुसहर र बोटे समुदायका सदस्यले रकम अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गरिएको बताउनुभयो ।