• ९ भदौ २०८१, आइतबार

राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी सडक अवरुद्ध

blog

बाढीले अवरुद्ध भएको बेनी बागलुङ सडक खण्डको हुलाकेस्थित सडक र सडकसँगै बगेर क्षति पुगेको गाडी ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ ९ गते । शनिबार बेलुकादेखि परेको अविरल वर्षा पछिको बाढीले हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक अवरुद्ध हुनुका साथै एउटा गाडी र केही घरहरूमा पनि क्षति पुगेको छ । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ जाने सबै मार्ग अवरुद्ध भएको हो । 

बेनी–बागलुङ र बेनी–मालढुंगा सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । पोखराबाट बेनीतर्फ आउँदै गरेको ग२च ९३५५ नम्बरको बोलेरो जिप बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाउँदा गाडीमा क्षति पुगेको छ । जिप बगेको भएपनि यात्रु र चालक भने जोगिएका छन् । पोखरामा भएको कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा एक्कासि बाढीमा फसेर आफूहरू जोगिए पनि गाडी भने जोगाउन नसकेको गाडीका मालिक जेनीस श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी पवित्र तीर्थस्थल बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर क्षति पुगेको छ । बाढीले जडभरत संस्कृत माध्यमिक विद्यालयको कोठामा पस्दा त्यहाँ बस्दै आएका १२ जना विद्यार्थीलाई सुरक्षित स्थानमा राखिएको छ । ज्येष्ठ नागरिक आश्रममा रहेका ४० जना ज्येष्ठ नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्स्पेक्टर) राजन रायमाझीले जानकारी दिनुभएको छ । 

गलेश्वरमा रहेको सशस्त्र प्रहरीको आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक (डिएसपी)नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ विद्यालय, ज्येष्ठ नागरिक आश्रम तथा पुलस्त्य पुलहाश्रम अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको थियो । 

बाढीले बेनी–जोमसोम सडक खण्डको बेनी नगरपालिका–९ गलेश्वर, रघुगंगा गाउँपालिका–२ तल्लो बैशरी, उपल्लो बैसरी, अन्नपूर्ण गाउँपालिका–३ को गुईठेभिर र खामभित्तामा सडक अवरुद्ध भएको छ । त्यस्तै बेनी दरवाङ सडक खण्डको मालिका गाउँपालिका–२ बाङ्गे पहिरो, मङ्गला गाउँपालिका–२ लामपाटा, बेनी नगरपालिका–४ घुमाउने भिरमा सडक अवरुद्ध भएको इन्स्पेक्टर रायमाझीले जानकारी दिनुभयो ।

त्यसैगरी बाढी पहिरोका कारण बेनी नगरपालिका–१ आनन्दबगरकी ६९ वर्षीय सेती थापाको दुई तले कच्ची घर पूर्ण क्षति भएको छ । घर क्षति भएपछि उहाँलाई छोरीको घरमा आश्रय दिलाइएको छ । त्यस्तै ३६ वर्षीय केशव थापा र ५५ वर्षीया झमबहादुर घर्तीको घरमा पनि क्षति पुगेको छ ।

रातिको अविरल वर्षा पछिको बाढीले पुर्‍याएको क्षति पछि अवरुद्ध सडकहरू खुलाउने प्रयास भई रहेको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र तथा छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङ जोड्ने सबै यातायात सम्पर्क टुटेको छ ।