• ९ भदौ २०८१, आइतबार

पोखरामा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक

blog

आइतबारदेखि पोखरामा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक ।

कास्की, भदौ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका पदाधिकारीको उपस्थिति रहेको छ ।

गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार गण्डकीको बैठक बसेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ । रासस