• ९ भदौ २०८१, आइतबार

प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ : सांसद चन्द

blog

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्द आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद चन्दले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) को धारणा रहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठुला राजनीतिक दलहरूले स्पष्ट धारणा ल्याउनुपर्ने जिकिर गर्नुभयो । उहाँले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

सांसद चन्दले भन्नुभयो, ‘‘चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय राखेको छैन । तसर्थ कसैले पनि घोषणा पत्रमा संविधान संशोधन गर्छौँ भनेर नलेखेकाले जनअनुमोदित छैन । यसलाई पहिला जनअनुमोदित बनाउनु प¥यो । संविधानअनुरूप कानुन दियौँ की दिएनौँ । दिएनौँ भने कसका कारणले दिएनौँ भन्नेकुराको विश्लेषण हुनुपर्छ । प्रदेश मजबुत बनाएका छौँ की छैनौँ, छैनौँ भने कसका कारणले यसको पनि विश्लेषण हुनुपर्छ ।’’

सांसद चन्दले समानुपातिक समावेशीलाई दोष लगाउनुभन्दा सही अन्वेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘समानुपातिक समावेशीलाई दोष लगाउनुभन्दा सही अन्वेषण गरेनौँ भने सरकार बनाउन बाहेक अरू कुनै उद्देश्य छैन भन्ने पुष्टि हुन्छ । संविधान संशोधनको कुरा गर्नुहुन्छ भने आफ्नो आधिकारिक धारणा ल्याउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि बनाएर जाऔँ ।’’