• १५ वैशाख २०८२, सोमबार

आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या

blog

जनआधारभूत विद्यालयको पुरानो भवनमा प्रहरी चौकी खज्र्याङ्गको कार्यालय । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १५ गते ।
गुल्मीमा आफ्नै भवन नभएका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टलाई कार्यसम्पादनमा समस्या आउने गरेको पाइएको छ । आफ्नै भवन नहुँदा यहाँका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टको कतै आफैँ र कतै स्थानीय तहको समन्वयमा भाडामा बसेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, कारागार सुरक्षा गार्ड, जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित यस जिल्लामा कुल ३२ वटा प्रहरी एकाइहरू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सहित यहाँका ११ वटा प्रहरी एकाइहरूको आफ्नै जग्गा र भवन रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय रिडी, पुर्कोटदह, जोहाङ, चन्द्रकोट र प्रहरी चौकी वामीटक्सार, धुर्कोटबस्तु, मर्भुङ्ग, चारपाला, श्रृङ्गा, नयाँगाउँ आफ्नै जग्गा र भवनबाट सञ्चालित रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणधीन रहेको हुँदा घर भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिनुभयो ।

जग्गा भएका तर भवन नभएका आठ वटा प्रहरी एकाइहरू छन् । केही भाडाको घरमा र केही स्थानीय तहको समन्वयमा अन्य भवनमा बस्दै आएको उहाँले बताउनुभयो । प्रहरी चौकी भुर्तङ्ग, प्रहरी चौकी हस्तिचौर, प्रहरी चौकी इस्मा, प्रहरी चौकी पुर्तिघाट जग्गा भएता पनि भवन नभएका कारण भाडामा बस्दै आएको पाइएको छ । प्रहरी प्रहरी चौकी पौदीअमराई मुसिकोट नगरपालिकाको सहयोगमा ब्लकले निर्माण गरिएको भवनमा बस्दै आएको छ । प्रहरी चौकी खज्र्याङ्ग छत्रकोट गाउँपालिकाको समन्वयमा जनआधारभूत विद्यालयमा बस्दै आएको छ । प्रहरी चौकी मजुवा पुरानो स्वास्थ्य चौकीको भवन र प्रहरी चौकी रुरु बलेचौर प्राथमिक विद्यालयको पुरानो भवनमा बस्दै आएको प्रहरी उपरीक्षक भुजेलले बताउनुभयो ।

जग्गा र भवन दुवै नभएका कूल १२ वटा प्रहरी एकाइहरू छन् । यी एकाइहरू पनि केही भाडाको घरमा र केही स्थानीय तहको समन्वयमा अन्य घर तथा भवनहरू बस्दै आएका छन् । प्रहरी चौकी अर्खाबाङ्ग मालिका गाउँपालिकाको समन्वयमा पुरानो स्वास्थ्य चौकीको भवनमा बस्दै आएको छ । अस्थायी प्रहरी पोस्ट धनार्जे र प्रहरी चौकी जैशिथोक बर्बोट स्थानीय तहको समन्वयमा भाडामा बस्दै आएको उहाँले बताउनुभयो । कारागार सुरक्षा गार्ड, प्रमुख जिल्ला अधिकारी निवास गार्ड, जिल्ला अदालत सुरक्षा समन्वय एकाइ, अस्थायी प्रहरी पोष्ट देउराली, अस्थायी प्रहरी पोस्ट हाडहाडे, अस्थायी प्रहरी पोस्ट इन्द्रेगौणा, अस्थायी प्रहरी पोस्ट ठुलापोखरा र अस्थायी प्रहरी पोस्ट बाँझकटेरीको जग्गा र भवन दुवै नभएको उहाँको भनाइ छ ।

त्यस्तै, प्रहरी चौकी गौडकोट स्थापना गर्ने पक्रिया छ । प्रहरी चौकीको आफ्नै भवन तथा जग्गा नहुँदा सुरक्षाकर्मीको खाने बस्ने ठाउँ समेत अनुकुल नभएमा सुरक्षाको कार्यसम्पादनमा समेत ठुलो समस्या आउने गरेता पनि जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न कुनै पनि कसुर बाँकी नराखिएको एसपी भुजेलले बताउनुभयो । जग्गा नभएको स्थानमा र अपुग जग्गाका लागि पनि स्थानीय तहसँग समन्वय गरेर जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।