• ९ भदौ २०८१, आइतबार

६७ जनामा हैजा पुष्टि

blog

काठमाडौँ, भदौ ९ गते । हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ ।

चार जना हैजा सङ्क्रमित उपचाररत रहेको महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा हैजा पुष्टि भएको छ । 

ललितपुरमा ४७ जना, काठमाडौँमा नौ, कैलालीमा आठ, प्युठानमा दुई, मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका मध्ये ६३ जना निको भइसकेको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी पिउनाले हुने गर्छ । डा. पुनका अनुसार चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशीका (विशेषगरी खुट्टाको) बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा बाउडिने जलवियोजन भएर मानिसको मृत्यु समेत हुने डा.पुनको भनाइ छ ।