• ९ भदौ २०८१, आइतबार

आयात वस्तुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छ : अध्यक्ष अग्रवाल

blog

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ ९ गते । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइतबार काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष अग्रवालले नेपालमा हाल करिब एक हजार १५० वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा पाँच हजारभन्दा बढी वस्तुहरू आयात हुने गरेको बताउनुभयो । उहाँले अधिकांश आयातित वस्तुहरू कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताउनुभयो ।

उहाँले यसले उपभोक्ता अधिकार हनन् हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताउनुभयो । उहाँले स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन आवश्यक भएको जिकिर गर्नुभयो । उहाँले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष अग्रवालले आयातित वस्तुमा पनि लेभलिङ अनिवार्य गर्नुपर्ने बताउनुभयो । आयातित वस्तुमा लेभलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेभलिङ गर्न माग गर्नुभयो । उपलब्ध भएसम्म स्वदेशी वस्तुलाई खरिद गर्ने कुरा कडाइका साथ लागू गर्न आग्रह गर्नुभयो ।