• ९ भदौ २०८१, आइतबार

इजरायलमा ४८ घण्टाका लागि सङ्कटकाल घोषणा

blog

तेल अभीभ (इजरायल), भदौ ९ गते । लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गर्नुभएको छ र  यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ ।

मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । 

इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कतामा रहन भनिएको छ ।

आज बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराउनुभएको छ ।

एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भन्नुभयो, “हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।”

“आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,” उहाँले भन्नुभयो ।

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ । रासस/एएनआई