• ९ भदौ २०८१, आइतबार

मानव तस्करी रोक्न नेपाल र भारतबिच सहकार्यको प्रतिबद्धता

blog

मानव बेचविखन रोक्न भएको बैठकमा सहभागि दुबै देशका सरोकारवालाहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ९ गते । खुला सिमानाका कारण सीमा नाकाबाट भइरहेको मानव तस्करी रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाले समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालगन्जमा भएको समन्वयात्मक बैठकमा सहभागी हुनुभएका दुबै देशका सुरक्षा अधिकारीलगायत अन्य सरोकारवालाले सो प्रतिबद्धता जनाएका हुन् । 

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई रोक्न समाजमा जनचेतना बढाउनुका साथै रोजगारका अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिंँदै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । भारतको रुपैडिहा प्रहरी चौकीका प्रहरी उपनिरीक्षक आशिषकुमार सिंहले खुला सिमानाका कारण बढिरहेको मानव बेचविखन रोक्न भारतले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रहरी निरीक्षक शिवा थापाले मानव बेचबिखनविरुद्ध लड्न सबै सम्बन्धित अधिकारी र गैर–सरकारी संस्थाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाको मानव बेचबिखनविरुद्धको स्थानीय समन्वय समितिका आशा शाहीले मानव बेचबिखनविरुद्ध निरन्तर अभियान चलाउनुपर्नेमा बताउनुभयो । 

अपर्चुनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानव बेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सो बैठकको आयोजना बाँके युनेस्को क्लब र अपर्चुनिटी भिलेज नेपालले संयुक्त रूपमा गरेको थियो । बैठकमा सहभागी दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका अगुवा र सामाजिक कार्यकर्ताहरूले मानव बेचबिखन रोक्न दुबै देशबिच समन्वय, सहकार्य र सहयोग आदानप्रदान अति आवश्यक रहेको बताएका थिए । 

बैठकमा नेपालगन्ज २ का वडाध्यक्ष मनोज श्रेष्ठ, बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकी, अपर्चुनिटी भिलेज नेपालका कार्यक्रम संयोजक सत्यनारायण यादव, वडा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक गोपाल जेठारा, देहात संस्था भारतका हसन फिरोज लगायतले पनि मानव बेचबिखन रोक्न आ आफ्नो सुझाव दिनुभएको थियो । 

जिल्ला युवा क्लब नेटवर्क, बाँके युनेस्को क्लब, माइती नेपाल, टिनी ह्यान्ड, शक्ति समूह, साथी संस्था, आफन्त नेपाल र सहयात्री नेपालका प्रतिनिधिहरू समेतको सो बैठकमा उपस्थिति थियो ।