• ९ भदौ २०८१, आइतबार

रामेछाप पहिरो : छजनाको शव भेटियो, चारजनाको खोजी हुँदै

blog

नवराज श्रेष्ठ

रामेछाप, भदौ ९ गते । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको लास भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाँकी ४ जनाको खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुलप्रसाद कँडेलले जानकारी दिनुभयो । 

अहिलेसम्म भीमबादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका.–३ लेखर्ककी ३० वर्षकी चण्डिका श्रेष्ठ उनका १८ महिनाको बालक आमुष श्रेष्ठको लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षकी उर्मिला पहरीसहित ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको पनि लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । 

अहिले काले पहरीको घरमा पुरिएका ३ जना र ९० वर्षकी एक वृद्धा महिलाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको उहाँले बताउनुभयो । अविरल वर्षपछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिम पाइप बगाएको स्थानीयले बताएका छन् ।