• ९ भदौ २०८१, आइतबार

जलनको उपचार निःशुल्क गरिँदै

blog

काठमाडौँ, भदौ ९ गते । सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने छ । प्रवक्ता डा. बुढाथोकीले त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने बताउनुभयो । 

उहाँका अनुसार जलन उपचारको प्रयोजनका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेन्डरी तहमा छुट्याइने छ । प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिने छ । जलन भएका सामान्य सर्जरी गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिने छ भने धेरै जलन भएको अवस्थामा जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गर्ने छन् । ७७ वटै जिल्लामा प्राथमिक तह निर्धारण गरेर जलनका बिरामीको उपचार हुने छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार जलन उपचारमा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पताललाई सेकेन्डरी अस्पतालका रूपमा राखिएको छ । जिल्लामा उपचार हुन नसक्ने बिरामी प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर हुँदा पनि बिरामीको सम्पूर्ण उपचार निःशुल्क हुने छ । 

प्रवक्ता डा. बुढाथोकीले दोस्रो तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा कीर्तिपुर अस्पतालमा रिफर गर्ने गरी कार्यविधि बनाइएको बताउनुभयो । कीर्तिपुर अस्पतालमा भने सक्नेलाई केही प्रतिशत तिराएर र नसक्नेका लागि भने सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था मिलाइने छ । निजी अस्पतालमा उपचारका लागि गएको हकमा भने जलनको निःशुल्क उपचार हुने छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक ७६ हजार जना जलनका बिरामी थपिने गरेका छन् । 

वीरमा अत्याधुनिक कक्ष सञ्चालन हुँदै 

वीर अस्पतालमा जलन उपचार कक्षको तयारी पूरा भएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जलन उपचारका लागि आवश्यक पूर्वाधार तथा सामग्री खरिद गरिसकेको  जानकारी दिनुभयो । उहाँले पूर्ण क्षमतामा जाँदा पाँच शय्या आइसियु र १० शय्या वार्ड सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । 

निर्देशक डा. पौडेलका अनुसार तत्काल तीन वटा आइसियु र सात वटा शय्या गरी १० शय्याबाट मात्र सेवा सञ्चालन हुने छ । उहाँले पछि क्षमता बढेपछि पूर्ण क्षमतामा जलनको उपचार सञ्चालन गरिने बताउनुभयो । 

जलन उपचारका लागि थप चिकित्सक र नर्सको आवश्यकता पर्छ तर वीरमा नर्सको अभाव रहेको बताइएको छ । डा. पौडेलले तत्काल मन्त्रालयले ३५ जना नर्स पठाउने हो भने जलन उपचार कक्ष सञ्चालन गर्न कठिन नहुने बताउनुभयो । “मन्त्रालयसँग जनशक्ति माग भइरहेको छ,” 

डा. पौडेलले भन्नुभयो, “सुरुको अवस्थामा जलनको उपचार गर्न कम्तीमा ३५ जना नर्स आवश्यक पर्छ ।” उहाँले मन्त्रालयसँग स्वीकृत दरबन्दीभित्रको नर्सिङ जनशक्ति मात्र माग गरेको जानकारी दिनुभयो । यसबाहेक प्लास्टिक सर्जरीसम्बन्धी डाक्टर थप दुई जना चाहिन्छ । वीरमा हाल जलनसम्बन्धी डाक्टर चार जना छन् ।  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।