• ९ भदौ २०८१, आइतबार

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्नुहुँदै गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्से

blog

गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँ बस दुर्घटनाका घाइतेसँग भेट गर्नुहुँदै ।

काठमाडौँ, भदौ ८ गते । गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा भएको बस दुर्घटनाका घाइतेसँग भेट गर्नुभएको छ ।

शुक्रबार भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरूको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते नागरिकहरूलाई भेट्न आजै नेपाल आउनुभएका राज्यमन्त्री खड्सेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरूको अवस्था बुझ्ने क्रममा भेट गर्नुभएको हो ।

भेटमा उहाँले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडोभन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताउनुभएको थियो । साथै राज्यमन्त्री खड्सेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिनुभएको थियो ।


बिरामीहरूको उपचार राम्रोसँग भइरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले त्यही क्रममा राज्यमन्त्री खड्सेसँग पनि भेट भएको र मृतकहरूको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिनुभयो ।

भदौ ७ गते शुक्रबार बिहान करिब ११ः३० बजे सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।