• ११ मंसिर २०८१, मङ्गलबार

हराउँदै मानपुर बजार

blog

कुनै समयमा राष्ट्रिय वाणिज्य बैंक रहेको घर । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, भदौ ८ गते ।
 कुनै समय मध्यपश्चिम क्षेत्रकै व्यापारिक केन्द्र थियो, मानपुर बजार । तुलसीपुर १७ मा रहेको मानपुर बजार अहिले सुनसान अवस्थामै छ । बजार क्षेत्रका पुराना एकाध घरबाहेक अन्य सिमेन्टका घरले बजार भरिन थालेको छ ।  अञ्चलाधीश कार्यालय स्थापनासँगै मानपुर बजारीकरण भएको थियो ।

८४ वर्षीय त्यस क्षेत्रका व्यापारी दुर्गाबहादुर खत्रीको अनुसार अञ्चलाधीश कार्यालयका लागि  जग्गा माग गरेपछि स्थानीयवासीले जग्गा उपलब्ध गराउन नसक्दा अञ्चलाधीश कार्यालय तुलसीपुरमा सरेको थियो । उक्त बजार क्षेत्र घोराही तुलसीपुर सडकखण्ड निर्माणभएसँगै तुलसीपुर क्षेत्रमा त्यहाँका व्यापारीहरू गएका थिए ।

खत्रीका अनुसार त्यस बजारमा किनमेल गर्नका लागि सल्यान, रोल्पा, रुकुमबाट मानिसहरू आउने गर्दथे । बजारमा नुन, मट्टितेल, कपडा, चिनी पाइने गर्दथ्यो । व्यवसायी खत्रीका अनुसार त्यो समयमा बाह्र रुपियाँको १८ लिटर मट्टितेल पाइन्थ्यो । कोइलावास बजारबाट घोडाबाट व्यापारीहरूले मट्टितेल ल्याउने गर्दथे ।

त्यस क्षेत्रमा बिजुली नएतापनि काठका पोल बनाएर बजार क्षेत्रमा मट्टितेलबाट नै रात्रिकालीन समयमा उज्यालोको व्यवस्था गरिएको हुन्थ्यो । रामलीलाका रूपमा समेत बजारमा निकै प्रख्यात रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको बजार क्षेत्रको  ऐतिहासिक बचाउनका लागि वडा कार्यालयमार्फत समेत काम भइरहेको छ । वडाध्यक्ष थलराज पुरीले बजार क्षेत्रका ऐतिहासिक धरोहरहरूलाई संरक्षण गर्न थालिएको र रामलीला जस्ता जात्रा फेरि सञ्चालनका लागि प्रयास थालिएको बताउनुभयो ।  उहाँले विभिन्न निकायहरूको समन्वयनमा त्यस क्षेत्रमा कोटीहोम सञ्चालन गरेर रामलीला जस्ता जात्रा पर्वलाई निरन्तरता दिइने बताउनुभयो ।

स्थानीय कुमोद शर्माले पुराना घरहरूलाई जीर्णोद्धार गरेर मानपुर बजार क्षेत्रको ऐतिहासिकतालाई कायम राख्न थालिएको बताउनुभयो । उहाँले बजार क्षेत्रमा रहेको मन्दिरलाई पुरातत्त्व विभागको सहयोगमा जीर्णोद्धार गर्न थालिएको बताउनुभयो ।

नेपालका जात्रा संस्कृति संरक्षणमा नेवारी र गुप्ता समुदायको बढी भूमिका रहेको र मानपुर बजार क्षेत्रबाट गुप्ता समुदाय अन्यत्र गएकाले रामलीला जात्रालाई निरन्तरता दिन असहज भएको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा राष्ट्रिय वाणिज्य बैङ्क, प्रहरी कार्यालय समेत रहेका थिए । अहिले बैङ्क तुलसीपुरमा रहेको छ ।  अहिले  मानपुर बजार क्षेत्रमा भने हुलाक कार्यालय मात्रै रहेको छ । त्यो समयमा मानपुर बजारमा एक सय ५० बढी विभिन्न पसलहरू रहेका थिए ।