• १६ भदौ २०८१, आइतबार

मात लागेका मन्त्रीको मस्ती

blog

मैले भन्या हैन बुढी ! देखिस् त मन्त्री भएपछि सबै लडी लडी आउँछन् । कति ढोका धाउँछन् । चोकमा हेर त कति मान्छे थुप्रेका ! हेर ! कतिले के के बोकेर आ’का छन् । कतिले के के ल्या’का छन् ।

बुढा तिमीलाई चाकडी गर्न आएका ती भेडाको हुल देखेर दङ्ग पर्छौ । यी मन्त्री न’भाको भोलिपल्ट मरेको मुसालाई उपियाँले छोडे जस्तो बेपत्ता हुन्छन् । तिनले ल्याएको कोसेली अप्रत्यक्ष घुस हो । हिजो आफूलाई खट्ट हुँदा कसैले झट्ट पैँचोसम्म दिने कृपा नगर्नेले अहिले चट्ट पोको बोकेर अरूले देख्लान् भनेर सट्ट भित्र पसेका छन् । यिनलाई लाजै छैन ।

मैले यस्तो कुरा लिनु हुँदैन । अर्का दलका पत्रकारले भेटे उछितो काट्छन् । म हप्काए जस्तो गर्छु तैँले कुरा मिला । जे दिन्छन् जुरुक्क उठेर खुरुक्क ल्याएर राख । अब त मलाई भात पनि पकाउन पर्दैन । तँलाईं ढिँडो मस्काउने दुःख हुँदैन । मेरो त बैठक बसे पनि खाजा र खाना ! रात बसे पनि !

हुन त हो बुढा रात बस्दा फेरि ! के फेरि ?  म कहाँ फेर्छु र ? हेर मेरो निजी सचिव चाहिँ एउटी उत्ताउली भै भनेर फेरेको अर्की लाटी परी । आँखा मात्र पिर्लिक पिर्लिक पार्छे ।

तिम्रो बानी मलाई थाह छ बुढा ! फेरि बेसरी धोकेर त्यसैलाई ढोगेर बोकेर हिँड्लाउ नि ? अचेलका मान्छे मान्छेनी के भाका ? पुछर लाग्ने दुछर पाइताला नै चाटुला जसो गर्छन् । नाच्न परे कछाडै उचाल्छन्, खुस्केको भोलिपल्ट पुछर निमोठ्छन् ।  खल्तीभरि पैसो देखेपछि नबोलाए पनि पछि लाग्छन् भुस्याहा कार्यकर्ता जस्ता !

हैट ! त्यस्ता कुरा नगर्नू ? तिनका बोली वचन नै मिठो । बरु तँ पनि त्यस्तै सिक् न । तँ पनि त मन्त्राणी भैसकिस् नि !

चाहिया छैन दुई दिने मन्त्राणी । खुस्केको भोलिपल्ट भुसिया कुकुर जति पनि मान्दैनन् । फुर्ती गरेर हुन्छ र ? चुनावमा जित्न धनुषटङ्कार गर्छौ, जितेपछि जनतालाई सास्टाङ्गदण्डवत् गरोस् भन्ने ठान्छौ । कसले बुझ्या छैन र तिम्रो चाल !

जनताको आँखामा आँसु आफ्नो भागमा मासु !

के गर्नु बुढी ! आफ्नो अड्डामा त किसिम किसिमका मान्छे छन् । हिजोसम्म सडकमा नारा जुलुस गर्दा गर्धन समाउनेले आज गर्धन तन्काएर स्यालुट गर्छ । मेरो कुरा के गर्छेस् हेर लुट मच्चाउने, आतङ्क मच्चाउने, हल्ला मच्चाउने पकेटमारा, मुलुकमारा, ज्यानमारालाई त सुरक्षा दिएर सम्मान साथ लगेको देखिनस् ? मन्त्री भएपछि चिनेकाको त के कुरा, गोरु बेचेको साइनोवाला समेत म त हजुरको फ्यान भनेर पछि लाग्छन् । अझ पत्रकारको के कुरा गर्नु ? पछि लाग्यालागै गर्छन् । हामीले अपानवायु छोडे पनि कतिपय तिनले क्या सुगन्ध फैलियो भनेर रिपोर्टिङ गर्छन् । विद्वान्को योगदान र समाजसेवीको दानकार्यव्रmमको समाचार तिन्ले दमपच पार्छन् । जतागए पनि हाम्लाई  आफन्तै जस्तो गर्छन् ।

हो, बूढा तिमीलाई के थाहा ! भ्रष्टाचारी त झन् खुट्टैमा ढोगुला जस्तो गरी चिप्लो घसेर काम लिन्छन् । यस्ताको भर गरौँ भने चिप्लाउन बेर हुन्न । कमिसनमा फसाउलान् (?) मुखले ठिक्क पार्छन् अनि मौका पर्दा झार्नसम्म झार्छन् । खोइ म त कुनै बुद्धि सिकाउने बुद्धिजीवी यहाँ आएको देख्दिनँ । तिम्रो बुद्धिले मात्र काम गर्दैन । मन्त्री हुनेबित्तिकै सबै जान्ने सुन्ने ठान्छौ । कुनै ध्यान छैन, कुनै ज्ञान छैन । कोतपर्व भनेको के हो भन्यो भने त्यो त एउटा चाडपर्व भन्छौ । रोपाइँ गमलामा गर्छौ । गर्नु गर्छौ । 

के कुरा गरेकी ? त्यस्ता बुद्धि चाहिने मान्छे हुँ म ? मलाई न आउने कुरा के छ ? नजान्ने भनेको केही छैन । म जाने हो र बुद्धिजीवी नै आएको देखेको छैन ? जसलाई पनि म एक चुड्कीमा बोलाउन सक्छ । फुर्ती गर्नेलाई एक मुड्कीमा ढलाउन सक्छु । जागिर लगाएर पाल्न सक्छु । चारा छरेर कविकलाकारलाई आफ्नो सोखमा देउसीभैलो खेलाउन सक्छु । कलाकार त के पत्रकार नै नचाउन सक्छु । गुरुको १३ भए हाम्रो आठ । गुरुको हातमा दैनिक पाठ हाम्रामा राजपाठ ! त्यसै मन्त्री भा’को हो र ? कत्रो तिकडम लगाउनु पर्छ । राजदूत, कुलपति हुनेदेखि सांसदको त रेट हुन्छ भने मन्त्रीखान त्यसै हुन्छ ? मैले के के जुक्ति बुद्धि लगाएँ तँलाई थाहा छँदै छ नि (?)  पहिलेकाले दही लिएर, बोका डो¥याएर लान्थे अहिलेकाले अटैची !

मैले त्यति नपढेर के भो ? म संस्कृतिदेखि शिक्षामन्त्री भैन कि, अर्थ मन्त्री भैन कि ? मैले नै प्राज्ञ बनाए, मैले नै जि.एम.बनाएँ, मैले नै तक्मा दिलाएँ, मैले नै पुरस्कार दिलाएँ । तक्मा पनि कतिलाई मैले नै सिफारिस गरेर दिएको हो । मन्त्री हुन नपाई मेरो गुरुभन्दा मेरो मर्यादा व्रmम कति माथि पुग्यो ? के हिजोको जस्तो हरिलम्फु हुँ ? तिमीलाई के थाहा छ ?  म कम दुःख गरेर मन्त्री भा’को हु ?

जनता भन्छन्, गोबरगाँडुलाई प्राज्ञ बनायौ, चपरचण्डुलाई मन्त्री, सण्डमुसण्डलाई ठेक्का दिलायौ, भ्रष्टलाई अमृत  पिलायौ । मलाई थाहा छैन, तिम्रा कर्तुत ? सबलाई थाहा छ ।

के कुरा गरेकी लाटी ? एकथरिलाई मासुभात खान्देपछि भोट पक्का, एकथरिलाई सुरापान गराएपछि प्रशंसै प्रशंसा, भजनकीर्तन गर्नेलाई  सल्लाहकार बनायो, अर्कालाई इनाम दिलाएपछि कसले बदनाम गर्ने ?

मन्त्री हँुदा के हुन्छ, अब पत्तो होला । हेर त चोकदेखि चौरसम्म मान्छे थुप्रेका !

यहाँ चाकडीमा आउने झोले कार्यकर्ता, टोले हर्ताकर्ता मात्र हो र बिग्रेका बुद्धिजीवीदेखि, शुद्धि हराएका गुदी नभा’का, काम छैन, बिहानै चोकमा जात्रा ।  सिनोमा किरा परे जस्तो !

बल्ल मेरो योग्यता देखियो । पढ्न त मैले पढेको छैन । हेर त कस्ता कस्ता बुद्धिजीवी डाक्टर समेत पछि लागेका छन् ।

केका बुद्धिजीवी हुन्थे ? झोले, टोले र भद्रगोले मात्रै देख्छु म त (?) कमिसनखोर, डन र डाँका चोर, ठेकेदारदेखि आसेपासे सत्यानासे पत्रकार ठेकदार सब बेकार ! काम छैन,  मुसामाथि उपियाँ स्याउस्याउ ! तिमी खुस्केपछि मरेको मुसालाई उपियाँले छोडे जस्तो हुन्छ अनि देख्नेछौ ।

अब देख्नेछेस् मेरो चमत्कार ! अब कसको बाबुको तागत हाम्रो घर खानतलासी गर्ने ?

हो बुढा, मैले पत्याएँ । सरकार ढल्दा थाहा पाउने छौ । उस्तैको हात परे छनविन हुनबेर हुन्न । अनि सबको बेइजत । बेइजत कमाएर पैसो कमाएको पनि इजजत कमाएको हुन्छ र ? तिम्रो योग्यता के छ । लेखेको क क न न गरेर, अङ्ग्रेजी पढ्दा बच्चाले पनि नगर्ने गल्ती गरेर देखाइसक्यौ । अझ फुर्ती गर्छौ । बुद्धि हुनेले आफ्नो मन्त्रालय अन्तर्गत नियुक्ति गरेको, पुरस्कार दिएको छलबाटै तिम्रो ताल देखिसकियो । फुर्ती लगाएर हुन्छ र ? के छ तिम्रो योग्यता ? योग्यता भनेको जेलमा बसेको हो । जेलमा बस्दा कस्ताको सङ्गत गरेका छौ ? गतिलो मान्छे जेल पर्छ र ? चोर, डाँका, घुसखोर, ज्यानमारा, डनको सङ्गत अनि के हुन्छ ? कुनै विद्ववान् आएका छन् तिमीलाई भेट्न ?

पदबाट खुस्केपछि कुकुरलाई जति पनि नपुछेको देखेका छैनौ ? काम गतिलो गरे पो सबैले हाइहाइ गर्थे । विदेश घुम्यौ के सिक्यौ ? एउटा नमुना काम गरेनौ । मलाई पो भन्छन् तिम्रो लोग्नेले त घुस खाएर सबै बनायौ देशलाई कङ्गाल गरायौ । भ्रष्टाचार गरेर कमायौ । मलाई गहना लगाएको पनि सुहाउँदैन भन्छन् छिमेकी । समाजले त देखिरहेका छन ? जनता सचेत नभएर पो हिसाब गरेका छैनन् । ती बुझ्ने भए हाम्रा छोरालाई कसैले छोरी दिँदैनन्, छोरी पनि कसैले लिँदैनन् । इतिहासमा तिम्रो अनुहारमा कालो पोतिन्छ । त्यस्तो नभन न बुढी ! बरु तलआउनेलाई मान्छे हेरेर चिया नास्ता दे न । यी सब कामका मान्छे हुन् ।

यी नकचरा ! आफ्नो काम बनाउन आएका । मन्त्री सकेको भोलिपल्ट मरेको मुसालाई जिउँदो उपियाँले छोडे जस्तो दम्पच हुन्छन् । असल मान्छे त यहाँ आएकै छैनन् । हेर बुढा कामै गर्ने हो भने नीतिनियम बनाउने, राम्रो योजना बनाउने र यसका लागि विद्वान् विशेषज्ञ बोलाउने, छलफल गर्ने, योजना बनाउने अनि पो हुन्छ काम । य९हाँ आएका खुराफातीहरू आफ्नो स्वार्थ लिएर समय बर्बाद गर्न आ’का छन् । उल्टो गतिमा विकास अघि बढ्ने हैन, पछि हट्छ । ज्ञानी, विद्वान्, विशेषज्ञका घरमा गए पो बुद्धि फुर्छ । यस्ता लठैत वरपर भीड जम्मा गरेर के नापिन्छ ?

के पाइन्छ हेर बुढी ! पैसाको ओइरो लागेर राख्ने ठाउँ नहुँदा पानी ट्याङ्कीमा राखेको थाह छैन ? अब हेर्दै जा । गरिब मन्त्रीको छ ? हाम्रै साथीहरू हेर कसैको जग्गा, कसैको घर, कसैको रेस्टुराँ, कसैको पार्टी प्यालेस, कसैको सुपरमार्केट कसैको अपाट्र्मेन्ट । वन खौरेर जग्गा बढाएका छन्, भोजभतेरमा मोज मस्ती लडाका छन् । बरु तैँले पनि मथिकालाई के गर्दा खुसी हुन्छन् त्यही गरेर फाइदा उठाउन सोच । केही नगरी मन्त्रिनी  भा’छेस् अरूले मलाई बधाई दिन्छन् म तलाई बधाइ भन्छु ।

ए बुढा ! तिम्लाई मात लागे जस्तो छ । गस्तीभित्र मस्ती मनाउँदै छौ । तिमीलाई बचाउने हस्ती पाखा लागे, तिम्रा गस्ती सब भागिसके ! ऊ हेर त बाहिर जुलुस आए जस्तो छ । सुन त– भ्रष्टाचारी  मुर्दावाद ! मधुपर्क