• ७ वैशाख २०८२, आइतबार

काठमाडौंमा तीन दिने तीज मेला सुरु

blog

काठमाडौँ, भदौ ७ गते । हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको  ‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने मेला काठमाडौँको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सुरु भएको हो ।

मेलाको बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गर्नुभयो । मेलाको शुभारम्भमा मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेशनल करुणा रावत लगायत सहभागी हुनुहुन्थो । 


श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको केन्द्रकी अध्यक्ष मिलु थापाले बताउनु भयो। 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीको विकास नभर्इ केही पनि विकास नहुने बताउँदै उद्यमशीलताको वृद्धि र महिलाको विकासमा टेवा पुराउन यस्ता मेला आवश्यक छ भन्नुभयो । 

उद्यमशील महिलाहरुलाई प्रोत्साहित गर्ने खालको कार्यक्रम भएकाले आफूलाई अत्यन्तै राम्रो लागेको भनाइ मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीको छ । 

यो मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहेका र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरुका लागि निःशुल्क उपलब्ध गराइएको मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिनुभयो । मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरु, तीज विशेष खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहारहरु राखिएको छ ।