• २७ वैशाख २०८१, बिहिबार

उठ्न थाल्यो उपत्यकाको फोहोर

blog

काठमाडौँ, वैशाख २५ गते । पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको छ । दुई हप्तादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन शनिबार बिहानदेखि सुरु गरिएको हो।

सो राजमार्गको मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ३०० सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकामा सङ्कलन गरिएका फोहोर सिसडोल ढुवानी गर्न सुरु गरिएको हो। फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै काठमाडौँका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएको छ। 

काठमाडौँ उपत्यका वातावरण विभागका प्रमुख सरिता राईले वर्षौंदेखि सडक निर्माण हुन नसकेको भन्दै सडक अवरोध गरेका स्थानीयवासीसँगको छलफलमा सहमति जुट्न नसकेपछि बाध्य भएर सुरक्षाकर्मी तैनाथ गरेर फोहोर ढुवानी गर्नुपरेको बताउनुभयो। वैशाख ११ गतेदेखि पुनः काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो।

स्थानीयवासीले सडक अवरोध जारी राखेसम्म सुरक्षाकर्मी तैनाथ राखेर नै फोहोर ढुवानी गर्ने स्पष्ट पार्दै उहाँले शनिबार फोहोर लिएर डेढ सयवटा ट्रक सिसडोलसम्म पुगेको जानकारी दिनुभयो। उपत्यकामा दुई हप्तादेखि जम्मा भएको फोहोरको व्यवस्थापन गर्न एक हप्ता लाग्न सक्ने उहाँले स्पष्ट पार्नुभयो। निर्माण कम्पनीले ठेक्का लिएर सडक निर्माण नगर्दा आफूहरू आठ वर्षदेखि धुलो र हिलोको सास्ती भोगेको भन्दै स्थानीयवासीले काठमाडौँको फोहोर सिसडोलसम्म ढुवानी गर्न अवरोध गर्दै आएका छन्।

 पासाङ ल्हामु राजमार्ग सुधार सङ्घर्ष समितिका अध्यक्ष भवनाथ गजुरेलले स्थानीयवासीको माग पूरा गर्दै सडक निर्माण गरेर धुलो र हिलोबाट मुक्ति दिलाउनुको सट्टा सुरक्षाकर्मी तैनाथ गरेर फोहोर ढुवानी गर्नु दुःखको विषय भएको बताउनुभयो। उहाँले स्थानीय तहको निर्वाचनसम्म फोहोर व्यवस्थापनको गाडीलाई आफूहरूले अवरोध नगर्ने स्पष्ट पार्नुभयो।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ। यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ। यसको तथ्याङ्क यकिन छैन। एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पु-याउने गरिएको  छ। उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पु-याउने गरिएको छ।  

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेस्रो धेरै फोहोर उत्पादन हुने नगर हो। यस नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ। त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ गरी चारवटा नगर क्षेत्रमा हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ। यी नगरहरू फोहोर उत्पादनका कोणबाट चौथो ठूला नगर हुन्। त्यसपछि काठमाडौँको चन्द्रागिरि, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। यी नगर पाँचौँ स्थानमा परेका छन्।