• २ माघ २०८१, बुधबार

सहयोगको पर्खाइमा गुर्बुराज

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, भदौ ७ गते । घोडाघोडी नगरपालिका–११, तिल्कनीपुरका मुक्त कमैया गुर्बुराज चौधरीको खुट्टा आगोमा परेर जलेपछि उहाँलाई बैसाखी तथा ह्विलचेयरको खाँचो परेको छ । 

एउटा खुट्टा काट्नु परेका कारण उहाँलाई बैसाखी तथा ह्विलचेयर आवश्यक परेको सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो । जसोतसो ऋणधन गरेर जलेको खुट्टा काटेर उपचार गरिए पनि हिँडडुल गर्न समस्या भएको चौधरी बताउनुहुन्छ ।

उहाँले काठको बैसाखी बनाएर त्यसैको सहारामा हिँडडुल गर्दै आउनुभएको छ । ६८ वर्षीय गुर्बुराज भन्नुहुन्छ, “बैसाखी र ह्विलचेयर किन्न पैसा छैन, आफूले बनाएको काठकै बैसाखीले काम चलाएको छु । अलि भारी हुन्छ र टाढासम्म हिँड्न सकिँदैन ।” गुर्बुराजको परिवारले दैनिक ज्याला मजदुरीबाटै गर्जो टार्ने गरेको छ । खुट्टा काटिएसँगै ज्याला मजदुरी गर्नसमेत गाह्रो हुने गरेको छ । घोडाघोडी नगरपालिका–१०, पहलमानपुरका एक युवाले गुर्बुराजलाई आर्थिक सहयोगका लागि सामाजिक सञ्जालबाट आह्वान गरेका छन् । अपाङ्गता भएकाका लागि सरकारले भत्ताको व्यवस्थाका साथै सहायता सामग्री सहयोग गर्छ तर गुर्बुराजले भने बैसाखी पनि पाउनुभएको छैन । वडाध्यक्ष दानसिंह जोगीले गुर्बुराज मुक्त कमैया परिवारका अपाङ्गता भएका व्यक्ति भएको जनाउँदै एउटा खुट्टा मात्र भएका व्यक्तिले सहायता सामग्री नपाउने बताउनुभयो । 

उहाँले भन्नुभयो “गुर्बुराज अब त बुढो पनि भइसक्नुभयो, उहाँलाई बैसाखी होइन ह्विलचेयरको खाँचो छ । सरकारले दुवै खुट्टा गुमाएकालाई मात्र सहयोग दिन्छ । गुर्बुराजले त्यही भएर सरकारबाट पाउने सुविधा नपाउनुभएको हो ।”दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने गुर्बुराजलाई आर्थिक सहयोगसमेत आवश्यक रहेको वडाध्यक्ष जोगीले जनाउनुभयो ।