• ११ मंसिर २०८१, मङ्गलबार

दुई अर्ब एकचालिस करोडभन्दा बढीको निर्यात

blog

सिराज खान 

नेपालगन्ज, भदौ ७ गते । पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा विभिन्न तीन वटा देशमा दुई अर्ब ४१ करोड रुपियाँभन्दा बढीको विभिन्न सामान निर्यात भएको छ । 

नेपालगन्ज भन्सार कार्यालयबाट प्राप्त भएको तथ्याङ्क अनुसार गत आव २०८०/८१ मा नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत, म्यान्मार र संयुक्त अरब इमिरेट्समा दुई अर्ब ४१ करोड ९० लाख ८५ हजार रुपियाँको निर्यात भएको हो । 

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आव २०७९/८० मा नाकाबाट विभिन्न छ वटा देशमा दुई अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपियाँको निर्यात भएकोमा गत आवमा थोरै घटेर तीन देशमा मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८५ हजार रुपियाँको निर्यात भएको बताउनुभयो । 

नेपालगन्ज नाकाबाट सबैभन्दा बढी भारतमा निर्यात भएको छ । गत आवमा भारतमा मात्रै दुई अर्ब ४० करोड ४५ लाख आठ हजार रुपियाँको निर्यात भएको थियो भने संयुक्त अरब इमिरेटमा एक करोड २७ लाख ४६ हजार र म्यान्मारमा १८ लाख ३१ हजार रुपियाँको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । 

जमुनाहा नाकाबाट निर्यात हुने देशमध्ये भारतमा सबैभन्दा बढी जडीबुटी निर्यात हुने गरेको छ । गत आवमा यो नाकाबाट ७५ करोड रुपियाँको जडीबुटी मात्रै निकासी भएको थियो । 

त्यसपछि भारतमा प्लाइउड निकासी धेरै हुने गरेको छ । गत आवमा भारतमा २९ करोड बढीको प्लाइउड निर्यात भएको थियो । सोही प्रकारले ४५ करोडको खयर कत्था, ४३ करोडभन्दा बढीको खोटो रोजिन, २२ करोडको खयर कच्छ, १० करोडको रिट्ठा, ११ करोडको तार्पिनको तेल, दुई करोडभन्दा बढीको बटर नौनी घिउ, दुई करोडभन्दा बढीको विभिन्न मसलालगायत भारतमा निकासी भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।