• १३ असोज २०८१, आइतबार

भोट भाषा सिक्दै लोमान्थाङका आमाहरु

blog

भोट भाषाको कक्षा लिँदै लोमान्थाङका आमाहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौ ६ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिकाका आमाहरुले भोट भाषा र लिपि सिक्न थालेका छन् । लोमान्थाङको संस्कृतिका रुपमा रहेको भोट भाषा लोप हुन नदिन गाउँपालिकाले आमाहरुलाई रात्रिकालिन कक्षामार्फत भोट भाषा सिकाउन थालेको हो । 

बीचमै पढाई छाडेका ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरु अध्ययनरत छन् । भोट भाषालाई यहाँको मातृभाषाका रुपमा लिने गरिन्छ । पछिल्लो समय भाषा संस्कृति लोप हुने अवस्था आएपछि गाउँपालिकाले भाषा संरक्षणका लागि कक्षा सञ्चालन गरेको हो । गाउँपालिकाभित्रका सबै वडामा अहिले रात्रीकालीन भाषा कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।  

भाषा र संस्कृति संरक्षण गर्ने उद्देश्यले भोट भाषाको कक्षा सञ्चालन गरिएको लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो । कक्षामा बौद्ध धर्म, संस्कृति सम्बन्धि लिपि र भोट भाषाका बारेमा पठनपाठन हुने उहाँले बताउनुभयो । गाउँपालिकाले भाषा शिक्षकको व्यवस्था गरेको छ। 

"हाम्रो भाषा, संस्कृति लोप भएर जान थाल्यो, भोट भाषा हाम्रो पहिचान हो," उहाँले भन्नुभयो, "भोट भाषा र लिपि हाम्रो संस्कृति हो । भोट भाषाको पाठ्यक्रम तयार पारी तीन महिनादेखि भोट भाषाको कक्षा सञ्चालन गरेका छौं ।" धर्म संस्कृति र भाषा संरक्षणका निम्ती भोट लिपि तथा  तिब्बती अक्षर महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

गाउँपालिकाभित्रका पाँचवटा वडाहरुमा साँझ ७ बजेदेखि बेलुका ९ बजेसम्म कक्षा सञ्चालन हुने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । 

"भाषा सिक्नेहरु अधिकांश महिला छन् । सबै वडामा गरेर एकसय पचासजनाले भाषा कक्षा लिइरहेका छन् । भाषा सिक्नेहरुमा ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरु छन्," उहाँले भन्नुभयो । 

भाषा कक्षा सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ६ लाख रुपियाँ बजेटको व्यवस्था गरेको उहाँको भनाइ छ । पठनपाठनलाई सहज बनाउन भोट भाषाको पाठ्यक्रम तयार पारी बुधबार वितरण गरिएको उहाँले बताउनुभयो । 

यसैगरी विद्यालय स्तरमा पनि गाउँपालिकाले भोट भाषाको पठनपाठन सुरुवात गरेको छ । पालिकाको तीन वटा सामुदायिक विद्यालयमा स्थानीय भोट भाषाको शिक्षा कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय आधारभुत विद्यालय, झिन्जु आधारभूत विद्यालय र छोसेरको दिव्यदीप माविमा भाषा शिक्षा लागू गरिएको छ ।