गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ६ गते । चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार बिहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको उहाँले बताउनुभयो ।
शङ्कास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यले बताउनुभयो ।
स्थानीयलाई तर्साउन सो वस्तु राखिएको हुनसक्ने आशङ्का प्रहरीले गरेको आचार्यले बताउनुभयो । शङ्कास्पद वस्तु राख्ने दुई जनामाथि शङ्का गरिएको र उनीहरुको खोजी भइरहेको प्रनि आचार्यले बताउनुभयो ।