• १४ पुस २०८१, आइतबार

विषादीका कारण पन्ध्र कट्ठाको धान बाली नष्ट

blog

धान बालीमा झार मार्ने हालेको विषादीले सुकेर गएको धान बाली । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, भदौ ६ गते । सुनसरीको प्रकाशपुरका एक किसानले धान बालीमा आएको झार मार्ने विषादी प्रयोग गर्दा पन्ध्र कट्ठाको धान बाली सुकेर गएको छ । वराहक्षेत्र १० प्रकाशपुर तमुटोलका सन्त उरावले एक हप्ताअगाडि धान बालीमा आएको झार मार्न प्रयोग गरेको विषादीकै कारण पन्ध्र कट्ठाको धान खेत नष्ट भएको हो ।

उमेर ५० पुगेका सन्त उरावले साँध सीमानामा रोपेका धान गाँजिएर आउँदासम्म आफूले रोपेको धान बालीमा भने झारले ढाक्दै गएपछि धानको झार मार्न मकै बारीमा झार मार्न प्रयोग गर्ने विषादी प्रयोग गर्नुभएको थियो । उरावले पन्ध्र कट्ठा जग्गा ठेक्कामा लिई रोपेको धान बालीमा हालेको विषादीकै कारण धान खेत सुकेर गएको छ । 

पन्ध्र कट्ठा क्षेत्रफलमा उरावले रोपेको रञ्जित धान बारीमा झार मार्न हाल्ने विषादी र मकै बारीमा झार मार्न प्रयोग गरिने विषादी मिसाएर हाल्दा धान बारी विषादीले जलाएर धानका गाभाहरू सुकेका छन् । झारले गर्दा धान गाजिन नसकेपछि उहाँले स्थानीय सहकारीबाट धानवारिमा झार मार्न प्रयोग गरिने विषादी ल्याउनु भएको थियो । विषादीसँगै मकै बारीमा झार मार्न प्रयोग गरिने मेसोजिन घरमै भएकाले मिसाएर धानवारिमा हाल्दा पन्ध्र कट्ठा क्षेत्रफलमा रहेको धान खेत सुकेर गएको छ । 

कुन विषादी केमा प्रयोग गर्ने भन्ने आफूलाई थाहा नहुँदा जथाभाबी विषादीको प्रयोगका कारण धान मरेको उराव बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ “जुनै विषादी भए पनि झार मार्ने सबै एकै खालका त हुन् भनेर मकैमा झार मार्न ल्याएको विषादी धानको झार मार्ने विषादीमा मिसाएर स्प्रे गरे । झार मर्छ भनेको त धानको बोटै ध्वस्त भयो ।”

धानमा झार मार्न कुन विषादी प्रयोग गर्ने भन्ने जानकारी सम्म किसानहरू लाई नहुँदा बेला बेला किसानले सानो गल्ती गर्दा पनि ठुलो आर्थिक भार व्यहोर्दै आएको स्थानीय कृषक प्रेम नारायण अधिकारी बताउनु हुन्छ । 

बालीमा लाग्ने रोगहरू, झारपातहरू तथा मुसाहरूलाई नियन्त्रण गर्ने वा मार्ने उपयोगको लागि शत्रु जीवनाशक विषादीहरू अति प्रभावकारी रसायन मानिन्छन् । तर, यी रसायनहरूको दुरुपयोग बालीहरू र मानव जगतको लागि खतरनाक छन् । यिनीहरूको प्रयोग प्रभावकारी र सुरक्षित तरिकाबाट गर्न कृषकहरूलाई यस्ता विषादीहरूको आधारभूत ज्ञान हुन आवश्यक रहेको वराहक्षेत्र नगरका कृषि प्राविधिक निर बहादुर राईको भनाइ छ । 

 ढुसीहरूलाई नियन्त्रण गर्न ढुसीनाशक विषादीहरू, झारपात नियन्त्रणका लागि झारपात नाशक, मुसालाई नियन्त्रणका लागि मुसानाशकजस्ता लक्षित शत्रु जीवको आधारमा विषादीहरूको प्रयोग नगरी जथाभाबी रूपमा किसानहरूले जानेर वा नजानेर विषादीको प्रयोग गर्नाले विषादीको दुरुपयोग बढेर गएको छ । 

रासायनिक विषादीले क्षणिक रूपमा राम्रै उत्पादन दिने भए पनि दीर्घकालीन रूपमा भने माटोको उर्वरा शक्तिलाई नै घटाउँछ । बिरुवामा लागेका किरा मात्र नष्ट नभई बातावारणका मानव उपयोगी बिरुवा तथा जीव प्राणी समेत नष्ट हुने गरेका विज्ञहरू बताउँछन् ।