• १७ पुस २०८१, बुधबार

घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै उपसभामुख राना । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), भदौ ५ गते । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगरपालिका समन्वय परिषद् रामपुरले बुधबार पाल्पाको रामपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै रानाले नेपाली उत्पादनलाई नियमन गरेर प्रयोग गर्न सके आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुग्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "हाम्रो यहाँको उत्पादन वैधानिक नभएपनि बाहिरबाट ल्याएर उपभोग गरिरहेका छन् । स्थानीय जसलाई परीक्षण गरेर कति खाने, त्यो नियमन गरियो भने आदिवासी जनजातिको जनजीवनलाई माथि पुर्‍याउँछ जस्तो लाग्छ । तर नियमन चाहिँ गर्नुपर्छ ।" विदेशमा स्थानीय उत्पादनलाई ब्राण्डिङ्ग गरेर जति पुरानो भयो उति महँगो भनेर संसार भर फैलाइरहेको अवस्थामा यहाँको उत्पादन औषधीको रूपमा पनि प्रयोग गर्न नपाउने अवस्था रहेको बताउनुभयो । 

बाहिरबाट आयात हुने मदिरालाई निरुत्साहित गरेर हाम्रो नेपालको उत्पादनलाई ब्राण्डिङ्ग गर्नु आवश्यक रहेको बताउँदै रानाले भन्नुभयो, ‘तर कसरी खाने कति खाने नियमन गर्नु पर्‍यो ।’ नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको र अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति रहेको भन्दै उहाँले एकताको जरुरी रहेको बताउनुभयो । पर्दाखेरी आफ्नो मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो । 

आदिवासी जनजातिको लागि सरकारले केही गरेन भनेर बस्नुभन्दा आफ्नो अधिकारको लागि आफैँ लाग्नु पर्नेमा जोड दिनुभयो । संस्कृतिको संरक्षणसँगै समाजको नेतृत्वका लागि अघि बढ्न अनुरोध गर्दै रानाले बालबालिकाको शिक्षाका लागि विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले लामो समयदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील रानाले बाल संरक्षण सम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताउनुभयो । 

बाल संरक्षण कानुन स्पष्ट नरहेको बताउँदै उहाँले भन्नुभयो, "बालसंक्षण कानुन स्पष्ट छैन । सबै बालबालिका समेट्ने कानुन जरुरी छ ।" दृष्टिविहीन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्नेगरी एकीकृत कानुन बनाउनुपर्ने उहाँको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराउनुभयो । 

बेझाँडमा भएको परिचयात्मक भेटघाट तथा स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पाल्पाका अध्यक्ष गम बहादुर थापाले संस्कार संस्कृतिको जगेर्ना गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।