• ११ मंसिर २०८१, मङ्गलबार

नागरिकको गुनासो सुन्न 'मोबाइल एप्स'

blog

कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ ५ गते । गाउँपालिकाले नागरिकको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकहरूको गुनासो सुन्न र गुनासोको आधारमा पालिकाबाट हुने सेवा प्रवाहमा सुधार गर्नका लागि थप टेवा पुग्ने पालिकाले विश्वास लिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीका अनुसार नागरिकको गुनासाको आधारमा पालिकाबाट हुने सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । नागरिक स्तरबाट आएको गुनासो, चासो र प्रश्नहरूलाई उचित सम्बोधन गर्ने गरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ । पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्य र सेवा प्रवाह सम्बन्धी गुनासो एप्समार्फत् राख्न सकिने गिरीले बताउनुभयो ।

पालिकाभित्रका नागरिकले जहाँबाट पनि गुनासो एप्समार्फत् राख्न सक्ने र गुनासोको उचित सम्बोधन पनि एप्समार्फत् नै गरिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । गुनासो राख्ने नागरिकले पहिचान खुल्ने परिचयपत्र राख्नुपर्ने छ । पहिलो पटक पालिकाभित्रका नागरिकको गुनासो सुनी त्यसको सम्बोधन गरिने र भविष्यमा पालिका बाहिरका आम नागरिकले गुनासो राख्न सक्ने गरी व्यवस्था मिलाइने गिरीको भनाइ छ ।

पालिकाले सेवा प्रवाह र विकास निर्माण सम्बन्धी चौमासिक रूपमा सार्वजनिक सुनुवाइ जस्ता कार्यहरुमार्फत् गुनासो सुन्दै आए पनि प्रविधिको प्रयोगमार्फत गुनासो सुन्ने व्यवस्था मिलाएको जनाएको छ । गुनासो सुन्नका लागि तयार गरिएको मोबाइल एप्सलाई भरपुर प्रयोग गर्न पालिकाले नागरिकहरूलाई आग्रहसमेत गरेको छ । 

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिकाभित्रका नागरिकहरूको इच्छा र चाहना विपरीत आफूहरू जान नसक्ने बताउनुभयो । पालिकाभित्रका नागरिकहरूलाई आत्म निर्भर बनाउन र स्वदेशमानै स्वरोजगार बनाउनका लागि पालिकाले कार्य गर्ने उहाँको दाबी छ । युवाहरूलाई स्वदेशमा नै टिकाइ राख्नका लागि व्यवसायी रूपमा कृषि र पशुपालनलाई जोड दिइएको उहाँको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कालीगण्डकी गाउँपालिकाभित्र तीन हजार ७३६ घरधुरी छन् भने १५ हजार ४४ नागरिक रहेको उल्लेख गरिएको छ ।