• १० मंसिर २०८१, सोमबार

प्रदीप गिरीले बालेको समाजवादको आलोक

blog

डा. शोभाकर पराजुली

काठमाडौँ, भदौ ४ गते ।  बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । नेपाली समाज अनि राजनीतिमा एउटा कहिल्यै नभिभ्ने ‘दीप’ हो प्रदीप गिरी । समाजवादी चिन्तकको छवि बनाउनुभएका प्रदीप गिरीले कहिल्यै लालचको जिन्दगी जिउनु भएन । कहिल्यै लाभको पद खोज्नु भएन । राजनीतिलाई कहिल्यै आफ्नो स्वार्थको भर्‍याङ बनाउनुभएन । 

समाज परिवर्तनको एउटा अभियान वा आन्दोलन र राजनीतिलाई फरकफरक आँखाले हेर्ने अनि त्यही आदर्शलाई जिन्दगीको बाँच्ने शैलीमा ढाल्नसक्ने एउटा अलौलिक क्षमता लिएर जन्मिने यस्ता मान्छे जगतमा बिरलै हुन्छन् । समकालीन नेपाली समाज र राजनीतिमा त्यही एउटा दुर्लभ नाम पनि हो, प्रदीप गिरी । वि.सं २००४ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रदीप गिरीका पिता मित्रलाल आफैँ नेपाली काँग्रेसका नेता हुनुहुन्थ्यो । बुबाका औँला समाएर उहाँले यो धर्तीमा आफूलाई उभ्याउन र पाइला चाल्न सिक्नुभयो । बुबाकै दीक्षाले उहाँभित्र राजनीतिको चेत पनि उज्यालिइसकेको थियो । 

एउटा राजनीतिक परिवारमै हुर्के बढेका उहाँले सानै उमेरदेखि राजनीतिक शास्त्रका ठेलीहरूदेखि दर्शनशास्त्रका मोटामोटा किताबहरू कण्ठै पारिसक्नुभएको थियो । उहाँ जन्मिदाको समय राणा शासन थियो । एक सय वर्ष जहाँनीया शासन चलाइसकेको राणाका ती अन्तिम दिनहरू थिए । थिचिएका अनि मिचिएका नेपाली समाज भित्रभित्र राणाविरुद्ध विष्फोटक तयारीमा थियो । यसको परिणाम २००७ फागुन ७ गते नेपालका राजनीतिक दल, दरबार र राणाहरूबीच भएको एउटा समझदारीले देशमा प्रजातन्त्र आयो । 

नेपालमा जन्मिए पनि उहाँको शिक्षादीक्षा भने भारतमै भएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिको सक्रिय बाटोमा आफूलाई हिँडाउन सुरु गरिसक्नु भएका उहाँ त्यसपछि समाजवादका एक साधकका रुपमा स्थापित हुनुभयो । भारतमै बसेर राजनीतिमा पाइला सार्दै गर्दा त्यो बेला नेपालमा राजा महेन्द्रले जनताको प्रजातान्त्रिक अधिकारमाथि ‘कु’ गरिसकेका थिए । २०१७ सालदेखि उहाँले जुन राजनीतिक बाटोमा आफ्ना पाइलाहरू अघि बढाउन खोज्दै हुनुहुन्थ्यो, त्यसपछिका ३० वर्षहरू फेरि दरबारसँग लड्दालड्दै बिते । भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनलाई कलिलो दिमागमै छापिसक्नुभएको उहाँलाई पञ्चायतविरोधी आन्दोलनमा अघि बढ्न झन सजिलो भयो । 

भारतमै पढ्ने बेलामा उहाँले बिपी कोइरालाको नाम धेरैपटक सुनिसक्नुभएको थियो । अरुजस्तै उहाँको मनमा पनि बिपीको एउटा अलग्गै तस्बिर छापिइसकेको थियो । भारतमै भएको एउटा कार्यक्रममा उहाँले बिपीलाई भेट्ने मौका पाउनुभयो । त्यही भेट नै उहाँको राजनीतिक जीवनको एउटा मोड बनिदियो । त्यही कार्यक्रममा उहाँले बिपीलाई प्रतिप्रश्न सोध्नुभयो । हत्तपत्त बिपीलाई प्रतिप्रश्न सोध्ने आँट कसैले पनि गर्दैनथे, यहाँसम्म कि अन्तर्वार्ता लिने पत्रकारहरूले समेत । एउटा कुनाबाट आफूलाई अप्रत्याशित त्यसमा पनि आलोचनात्मक प्रश्न गर्ने त्यो स्कुले ठिटो बिपीको नजरमा परिसकेको थियो । बिपीको त्यही नजर लागेको केटो २०२४ सालमा ‘नेपाल छात्र सङ्घ बनारस’को निर्वाचित उपाध्यक्ष बन्यो । बिपीभन्दा ३० वर्ष कलिला उहाँका राजनीतिक पाइलाहरू त्यसपछि फटाफट अघि बढ्न थाले । 

नेपाली कांग्रेसभित्र बिपीको राजनीतिक, सामाजिक र साहित्यिक दर्शन अनि सिद्धान्तहरूलाई आलोचनात्मक विवेचना गर्ने सायद उहाँ एक्लो प्राणी नै होला । र, पनि उहाँले आफ्नो राजनीतिक जीवनभरि बिपीकै व्यक्तित्व, विचार अनि राजनीतिक सिद्धान्तलाई अपनाइरहनुभयो । खासगरी राष्ट्रवादका सन्दर्भमा उहाँ र बिपीबीच जहिल्यै सैद्धान्तिक र व्यावहारिक मतभेदको खाडल रहिरह्यो । तथापि, बिपीले निर्माण गरेको राजनीतिक सिद्धान्त र क्षितिजबाट प्रदीप कहिल्यै टाढा हुनुभएन तर कहिल्यै प्रश्न गर्न छोड्नुभएन । युगभन्दा अलि चाँडै जन्मिएका बिपीलाई सायदै त्यो बेलाको समाजले चिन्यो । त्यस्तो रिक्तता बिपी आफैँले पनि अनुभव गरेको भनेर आफ्ना आत्मकथाहरूमा कताकता उल्लेख गर्नुभएको छ । उहाँको एउटै चिन्ताको बिषय हुन्थ्यो– शास्त्रीय बहस गर्ने समकालीन नै भएनन् । 

बिपीका अघि सधैंँ छाती तन्काएर उभिने उहाँ एउटा त्यस्तो तातोरातो युवा हुनुहुन्थ्यो, जसले बिपीसँग समाजवादका शास्त्रीय आयामहरूका बारेमा बहस गर्ने हिम्मत राख्थ्यो । अनि राष्ट्रवादका मुद्दामा बिपीसँग सवालजवाफ गर्ने हैसियत राख्थ्यो । बिपीलाई सिधासिधा प्रश्न सोध्न हिम्मत राख्ने उहाँलाई त्यही निहुँमा बिपीका विरोधी आँखाले हेर्नेहरूको कमी त थिएन तर पनि उहाँको अध्ययन अनि विश्लेषण क्षमताका अघि ती आलोचना र विरोधी नजरहरू कहिल्यै माथि उठ्न सकेनन् । उहाँको त्यो क्षमताका अघि ती सबै सधैंँ दबित रहे । 

यो आदत उहाँको आफ्नो निजी जीवनमा उत्तिकै थियो । जसले आफ्नाबारेमा प्रश्न गर्छ वा आलोचना गर्छ उसलाई नै उहाँले सधैँ नजिक राख्नभयो । अर्थात् न उहाँ प्रश्न गर्न डराउनुभयो न आफूमाथि आउने प्रश्नहरूलाई पन्छाएर भाग्नुभयो । त्यही राजनीतिक कुशलता र क्षमताले नै उहाँ आफ्नो राजनीतिक दर्शनको पथमा सधैँ प्रदीप्त भइरहनुभयो । राजनीतिक जीवनका आफ्नै सिद्धान्तहरू हुन्छन् । जिन्दगी बाँच्ने आफ्नै शैली हुन्छ । त्यसलाई जिउने आफ्नै स्वभाव हुन्छ । उहाँ जीवनभरि त्यस्तै रहनुभयो, जस्तो यो समाजले चिनेको प्रदीप थियो ।  

एकपटक उहाँले बिपीलाई एउटा आग्रह गर्नुभएको थियो– ‘सान्दाजु अब म आफूलाई समाजवादको अध्ययनमा सक्रिय बनाउँछु । समाजवादीहरूसँग सम्पर्क बढाइदिनुपर्‍यो ।’ बिपीले भारतीय समाजवादी नेताहरूलाई पत्र लेखेरै उहाँलाई भेट्न र सम्बन्ध बढाउन सहजीकरण गरिदिनुभएको थियो । त्यसबाटै उहाँमा समाजवादको ब्याख्या विश्लेषण मात्रै होइन, त्यसको व्यावहारिकीकरणमा पनि आफूलाई अब्बल सावित गर्नुभयो । यसरी उहाँ एउटा राजनीतिक व्यक्ति मात्रै नभएर सिङ्गो वैश्विक समाजवादी आन्दोलनका एक प्रणेताका रुपमा आफूलाई स्थापित गर्नुभयो । 

उहाँको एउटा खासियत के पनि थियो भने उहाँले आफू बाँचिरहेको सामाजिक संरचनालाई ठाडै चुनौती दिनुभयो । त्यो भनेको उहाँमा एक प्रकारको बिद्रोही स्वभाव पनि जिउँदो र जाग्दो थियो । यसका कारण उहाँ परिवार र समाजबाट अलग हुनु परे पनि आफ्नो सिद्धान्तबाट कहिल्यै डग्मगाउनु भएन । उहाँले सधैँ भन्नुहुन्थ्यो– ‘यो समाज अनि सामाजिक संरचना हामी आफैँले आफ्नो सुविधाका लागि बनाएको हो । र त्यसलाई भत्काउन सक्ने पनि हामी आफैँ नै हो ।’ कुनै बेला दलित समुदायका व्यक्तिलाई आफ्नो भान्सेका रुपमा राख्दा उहाँ परिवारबाटै बहिष्कृत हुनुपरेको थियो । तर उहाँ कहिल्यै त्यसबाट विचलित हुनुभएन र बरु आफूलाई सधैंँ त्यस्तै दलित, पिछडिएका अनि सिमान्तकृत वर्गकै बीचमा राख्नुभयो । जीवनको अन्तिमसम्मै उहाँका सहयोगी त्यस्तै समुदायका व्यक्ति थिए । उहाँको त्यही अडिग विचारका कारण नेपाली काँग्रेसले आफ्नो समावेशी नीति नै बनायो ‘कदमजम’ । यो नीति नेपाली काँग्रेसले अबलम्बन गर्नुको पछाडि प्रदीपकै योगदान थियो ।  

समाजवादपछि उहाँको अर्को विद्वता भनेको माक्र्सवादको अध्ययन हो । खासगरी कम्युनिष्टहरूले आफ्नो सिद्धान्तको ग्रन्थ नै ठान्ने माक्र्सवादलाई सरलीकृत गर्ने उहाँले कुनै बेला कम्युनिष्ट स्कुलमा कम्युनिष्टहरूलाई माक्र्सवाद पनि पढाउनुभएको थियो । यसकारण उहाँलाई आदर्श मान्ने कम्युनिष्टहरूको पनि कमी छैन । फरक विचारधार भए पनि उहाँले मुद्दा मिल्नेहरूसँग सधैँ सम्बन्ध बढाउँदै लैजानुभयो । चाहे युद्ध गरिरहेको माओवादी होस् वा अधिकारका लागि आन्दोलन गरिरहेको मधेसवादी दलहरू । युद्ध गरिरहेको तत्कालीन माओवादीविरुद्ध सारा रज्यशक्ति र राजनीतिक दलहरूसमेत एकातिर हुँदा प्रदीप एक्लै माओवादीको पक्षमा उभिनुभयो । उहाँले सधैँ माओवादीले उठाएका मुद्दाहरूको सम्बोधन हुनुपर्छ भनिरहनुभयो । माओवादीलाई संसदीय बाटोमा ल्याउन पनि उहाँको धेरथोर भूमिका रह्यो । अनि मधेसमा आन्दोलन गरिरहेका तथा उनीहरूले उठाइरहेका मुद्दा र मागका विषयमा पनि उहाँ आफ्नै पार्टी नेपाली कांग्रेसभन्दा माथि उठेर लड्नुभयो । मधेसको अधिकारका लागि उहाँले त्यहाँ संघर्षरत सबै पक्षसँग सम्बन्ध बलियो बनाउनुभयो । 

विसं २०७२ मा संविधानसभाले संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने एक सांसद उहाँ पनि हुनुहुन्छ । उहाँको यो संविधानप्रति सधैँ एउटै मत रह्यो– यो अपुरो संविधान छ । त्यसको संशोधन जरुरी छ । संविधान अझै संशोधन हुन सकेको त छैन तर अब संविधान संशोधनकै लागि सत्तागठबन्धन बनिरहेको यो बखत भने उहाँ हामीमाझ हुनुहुन्न । उहाँले सधै भन्नुहुन्थ्यो–‘जुनसुकै वाद होस् या सिद्धान्त त्यसले अन्ततः जनताको जीवनमा समृद्धि ल्याउनुपर्छ । जनताले त्यो महसुस गरेको दिन सबै सिद्धान्त र वादहरू बराबर हुन्छन् । त्यसैले कसैलाई वाद र सिद्धान्तका आधारमा हेरिनु हुँदैन । बरु मुद्दाका आधारमा उनीहरूलाई आफ्नो पराई सम्झनुपर्छ ।’ बिपीपछि शक्तिशाली सभापतिका रुपमा रहेका गिरिजाप्रसाद कोइरालासँग उहाँको सधैँभरि मतभेद यही कुरामा रहिरह्यो । 

पार्टीको नीति र सिद्धान्तभन्दा माथि उठेर ‘गणतन्त्र’को अभियान चलाउन प्रेरित गर्ने उहाँ कहिल्यै पनि कसैको नियन्त्रित घेराभित्र रहनुभएन । आफ्नो ब्रह्म, सिद्धान्त र विचारले जे देख्यो उहाँले त्यसै गर्नुभयो । यहाँसम्म कि विचारमा असहमति बढ्दै जाँदा उहाँ मूल पार्टीबाट अलग पनि हुनुभयो तर कहिल्यै आफ्नो आत्मसिद्धान्त विपरीत सम्झौता गर्नुभएन । त्यसैले कतिपयले उहाँलाई अराजक भनेर पनि आलोचना र टिप्पणी गर्छन् । तथापि उहाँ आफ्नै स्वभावमा बाँच्ने रमाउने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँमा कहिल्यै लोभलालच जागेन अर्थात उहाँले अपनाउनु भएको राजनीतिक सिद्धान्तले कहिल्यै पनि लाभको पदमा बस्न सिकाएन । मन्त्री बन्न आएका कतिपय प्रस्तावहरूलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो । कहिल्यै कुनै राजनीतिक भाग खोज्नुभएन र आफूलाई अनि आफ्नाहरूलाई पनि त्यसका लागि रोज्नुभएन । तर जनताका कामका लागि भने उहाँ सधैंँ अघि लागेर खटिनुभयो । त्यसैको परिणाम हो उहाँले चुनावमा भोट माग्न कहिल्यै जानु भएन । बरु मतदाताहरू उहाँलाई भेट्न आएरै शुभेच्छा दिन्थे, अनि चुनावमा भोट हालेर उहाँलाई जिताउँथे ।

एउटा कुलीन परिवारमा जन्मिए पनि उहाँमा न कहिल्यै धन सम्पत्तिको लोभ रह्यो, न त्यसको रवाफ । उहाँ सधैंँ आफूलाई भूइँमान्छेका रुपमा उभ्यानुभयो । भूइँमान्छेहरूसँग रहनुभयो । समाजवादलाई आफ्नो आदर्श ठान्नेहरूको सबैभन्दा ठूलो गुण यही नै हो र समाजवादको असली अभ्यास नै यही हो । आफूलाई कहिल्यै बिलासी संस्कारमा नढालेका उहाँको यही सन्तपन नै आमनागरिकका लागि अनुराग बन्यो । आफ्ना आदर्श र सिद्धान्तहरूलाई उहाँले कतिसम्म व्यवहारमा उतार्नुहुन्थ्यो भन्ने यो एउटा बलियो उदाहरण हो । आफ्ना सारा सम्पत्तिलाई आफ्नै बस्तीमा आश्रम बनाएर उहाँले बेसहाराहरूलाई साहार दिने कोसिस गर्नुभयो । मृत्यु शैय्यामा जीवन चियाइरहँदा पनि धिपधिपारहेको त्यो उहाँभित्र उत्तिकै प्रदीप्त ज्योति थियो । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । त्यसैले त उहाँले नदीछेउमा आश्रम बनाउनुभयो । असहायहरूलाई पढ्न लेख्न सिकाउनुभयो । जातपातको भाषा कहिल्यै जान्न चाहनुभएन । सबै मान्छे बराबर देख्नुभयो । बरु आफूलाई सधैँ फकीर बनाइराख्नुभयो तर वंश अनि अंशमा कहिल्यै हक खोज्नुभएन । त्यो आफ्नो निजी जीवनमा पनि होइन र राजनीतिक जीवनमा पनि । 

कहिल्यै उहाँ सत्तामा जान चाहनुभएन । कहिल्यै त्यो चाह वा मोह पनि राख्नुभएन । राजनीतिक रुपमा एक नेता अनि शासक बन्ने चाहनाबाट उन्मुक्त उहाँ सधैँ जीवन दर्शनको खोजमै तत्लीन रहनुभयो । वंशका लागि कहिल्यै चिन्ता गर्नुभएन । सम्बन्ध र प्रेमलाई पनि कहिल्यै उहाँले महत्व दिनुभएन । परिवार अनि आफन्तहरूको घेरामा कहिल्यै नअटाउनुभएका उहाँका लागि बरू यो खुला संसार नै परिवारजस्तै थियो । अनि अरूका लागि प्रदीप बन्नुभएको थियो । 

भौतिक संरचनाको निर्माण मात्रै विकास होइन र त्यसले मात्रै समृद्धि ल्याउँदै भन्ने मान्यता राख्ने उहाँले विकासे संरचनाहरूले जनताको जीवनमा के चाहिँ परिवर्तन ल्यायो भनेर मूल्याङ्कन गर्नुपर्ने ठान्नुहुन्थ्यो । उहाँले विकासे अभियानलाई कहिल्यै समाजवादको जग मान्नुभएन । अर्थतन्त्रको उदारीकरणसँगै राज्य नागरिकप्रतिको आफ्नो दायित्वबाट बिमुख हुनु हुँदैन भनेर सधैँ खबरदारी गरिरहनुपर्ने उहाँको मान्यता थियो । यसैलाई लोकतान्त्रिक समाजवादका रुपमा ब्याख्या पनि गर्न सकिन्छ । राजनीतिक, आर्थिक तथा सामाजिक जीवनका दर्शन र सिद्धान्तका ठेलीहरू कन्ठस्थ पार्नुभएका उहाँ कहिल्यै एकाङ्की हुनुभएन । ज्ञानको भारीले उहाँलाई कहिल्यै थिचेन बरु उहाँ चङ्गाजस्तै फुरुङ्ग हुनुहुन्थ्यो, भूइँमान्छेहरूसँग रमाउँदा, उनीहरूसँग संवाद गर्दा र उनीहरूका समस्याको समाधान गरिदिँदा । 

उहाँको जीवनगाथा एउटा सानो आलेखमा अट्ने खालको हुँदै होइन । उहाँले बाँचेको जीवन अनि उहाँले अपनाएको जीवनशैलीका फेहरिस्त लेख्ने हो भने त जीवन दर्शनको एउटा सिङ्गो ठेली नै बन्छ । उहाँ एक नेता मात्रै हुनुहुन्न, राजनीतिज्ञ मात्रै पनि हुनुहुन्न,् उहाँ जीवनका साधकमात्रै होइन र  त्यसका लागि साधना मात्रै पनि गर्नुभएन । चिन्ता र चिन्तनमात्रै पनि गर्नुभएन । बरु जस्तो हुनुहुन्थ्यो त्यस्तै बाँचीदिनुभयो । जस्तो जीवन बाँच्नुभयो, त्यस्तै विचार निर्माण गरेर जानुभयो । एउटा त्यस्तो विचारको बत्ती जलाएर उहाँ जानुभएको छ, त्यसले नेपाली समाज र राजनीतिलाई जुगौँजुगसम्म आलोकित बनाइरहनेछ । (लेखक राजनीतिक विशलेषक हुनुहुन्छ) रासस