• १६ भदौ २०८१, आइतबार

गुल्मीमा बरन्डाबाट लडेर एकको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ ४ गते । गुल्मीमा घरको बरन्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर  १, र्‍याले बस्ने अन्दाजी ३५ वर्षीय कमल कुमालको घरको बरन्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलका अनुसार कुमाल सोमबार (हिजो) आफ्नै टिनले छाएको तीन तले कच्ची घरको बिच तलामा जोडिएको बरन्डाबाट लड्नुभएको हो ।

सोही बरन्डामा रहेको आफू सुत्ने कोठामा सुत्न जाने क्रममा बरन्डाबाट तीन मिटर तल खसेर घटनास्थलमै निजको मृत्यु भएको बताइएको छ । घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।