• ११ मंसिर २०८१, मङ्गलबार

खाना पकाउन अझै गुइँठाकै प्रयोग

blog

खाना पकाउनका लागि तयार गरेर सुकाइँदै गरिएको गोबरको गुइँठा । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, भदौ ४ गते । सहरी क्षेत्रमा खाना पकाउन ग्यास, हिटर, इन्डक्सनको अत्यधिक प्रयोग भइरहे पनि ग्रामीण भेगमा भने अझै पनि धेरै ठाउँमा दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ । 

बाँके र बर्दिया जिल्लाका कतिपय स्थानीय तहमा अझै पनि खाना पकाउन गाई, गोरु र भैँसीको गोबरबाट तयार हुने गुइँठा प्रयोग हुने गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१४ को ग्रामीण क्षेत्र चिडिमार बस्तीका स्थानीयले अझै पनि गोबरमा भुस, पराल मिसाएर घाममा सुकाएर बनाइएको गुइँठालाई नै इन्धनका रूपमा प्रयोग गर्ने गरेको स्थानीय ननकली चिडिमारले बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएको र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदै गएसँगै काठ दाउरासमेत पाउन समस्या भएपछि विकल्पका रूपमा गुइँठा प्रयोग गर्दै आएको बताउनुभयो । 

यस्तै राप्ती सोनारी–३ का हरि थापाले पनि खाना पकाउने ग्यास अति नै महँगो हुनुका साथै गाउँघरमा सहज रूपमा नपाइने हुँदा खाना पकाउन गुइँठा प्रयोग गर्ने गरिएको बताउनुभयो । उहाँले चिसो मौसममा त गुइँठा प्रयोग गर्नेहरू अरू बेलाभन्दा धेरै हुने गरेको बताउनुभयो । चिसो मौसममा अधिकांश मधेशी समुदायका परिवारले बढी गुइँठा प्रयोग गर्ने गरेको पाइन्छ । सो समयमा मधेशी गाउँबस्तीमा जाने हो भने घरको आँगन, छाना अनि घरको भित्ता भित्तामा र खेतका गरामा गुइँठा सुकाएको देखिन्छ । चिसोको मौसममा इन्धनका रूपमा गुइँठा प्रयोग गर्दा कोठा तातो हुने र आगोमा खानासमेत पाक्ने हुँदा ग्रामीण क्षेत्रमा बढी गुइँठा प्रयोग हुने गरेको डुडुवा कम्दीका रमेश यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण ग्यास चुलो र सिलिन्डर किन्ने, विद्युतीय सामग्री प्रयोग गरी खाना बनाउने अवस्था सबैको छैन । यसले गर्दा दाउरा र गुइँठाको धुवाँमा खाना बनाउनुपर्ने बाध्यता छ । धुवाँले गर्ने असरबारे जानकारी नपाउँदा पनि बर्सौंदेखि गुइँठा र दाउराको प्रयोग भइरहेको छ ।”

अहिलेको अवस्थामा समेत दाउरा र गुइँठाको प्रयोग कम नहुँदा ग्रामीण क्षेत्रका महिला तथा बालबालिकामा दीर्घरोगको समस्या देखिने जोखिम बढेको छ । खाना बनाउँदा प्रयोग गरिने गुइँठाबाट निस्कने धुवाँका कारण भान्सामा काम गर्ने महिलाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । 

धुवाँका कारण आँखा रातो हुने, दुख्ने, श्वासप्रश्वासमा समेत समस्या भएर ग्रामीण क्षेत्रबाट उपचारका लागि महिला अस्पतालमा आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो । उहाँले विपन्न समुदायका घरमा बढी प्रयोग हुने गुइँठाका कारण महिला र बालबालिकाका आँखा र श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको बताउनुभयो ।