• ४ भदौ २०८१, मङ्गलबार

खस्कियो विश्वमा मानवीयता

blog

युद्धमा क्षतिग्रस्त राष्ट्रसङ्घको भवन ।

काठमाडौँ, भदौ ४ गते । विश्वमा मानवीयता खस्कँदै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा सङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो ।

विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनानलगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् । द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ । 

सङ्घका अनुसार गत वर्ष अर्थात् सन् २०२३ मानवीयताका हिसाबमा विश्वको अवस्था दर्दनाक रह्यो । गत वर्षको तुलनामा यस वर्ष पनि उस्तै अमानवीयता विश्वले खेप्नुपरेको दृष्टान्त संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

उसका अनुसार मानवीय कार्यमा सक्रिय रहेका मानिसको सङ्ख्या कम हुँदै जानु र मानवीय सेवा लिनेको सङ्ख्या उच्चस्तरले विश्वमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै विभिन्न देशमा बढ्दै गएको हतियारसहितको द्वन्द्वले अमानवीयता बढाएको दाबी गरिएको छ । जसको मूल्य आममानिस र मानवीयताका लागि खटिनेले चुकाउनुपरेको सङ्घले प्रस्ट पारेको छ ।

मानवीय कार्यमा सक्रिय रहेका र मानवीयताका लागि जोडिएको सम्पत्तिमाथि बारम्बार भइरहेको निरन्तरको आक्रमण तत्काल रोक्नुपर्नेमा उसले जोड दिएको छ । विश्व मानवीय दिवसका अवसरमा आममानिस र सार्वजनिक सम्पत्तिको विनाश रोकिनुपर्ने औँल्याउँदै सङ्घले विश्वमा भइरहेका हिंसा, दण्डहीनताको अन्त्य गर्नसमेत माग गरेको छ । 

विश्वका शक्ति राष्ट्रहरूलाई सम्बोधन गर्दै जारी वक्तव्यमा ती शक्तिले आफूले मानवीयता रक्षाको प्रतिबद्धता स्मरण गर्दै हिंसाबाट मानवीयताको यात्रामा सहभागी हुन अपिल गरिएको छ । 

विश्वका विभिन्न मुलुकमा उत्पन्न द्वन्द्वमा पीडितको सेवा गर्ने जनशक्तिको अभाव हुँदै गएकाले ती शक्ति राष्ट्रले आमजनता, मानवीय कार्यमा सक्रिय रहेका क्षेत्रमा आक्रमण गर्न छाड्नुपर्ने जिकिर गरिएको छ । 

इजरायल–गाजा युद्धका कारण विगत छ महिनामा मात्र ३० हजार मानिसको ज्यान गएको छ । आक्रमणका क्रममा १५० भन्दा बढी मानवीय कार्यमा सक्रिय रहेका कार्यकर्ता मारिएका छन् । 

युद्ध र द्वन्द्वमा प्रभावित १४ करोड ६५ लाख मानिसको सहयोगका लागि ४८ अर्ब ६५ करोड अमेरिकी डलर बराबरको खर्च आवश्यक रहेको जनाइएको छ । विगत छ महिनामा गत वर्षभन्दा कम १२ अर्ब २६ करोड डलर मात्र प्राप्त हुँदा काम गर्न अप्ठ्यारो परेको स्पष्ट पारिएको छ । 

पछिल्लो समय सुडानमा भएको आक्रमणपछि त्यहाँका जनताले अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको जनाइएको छ । सन् २०२२ मा भन्दा सन् २०२३ मा मानवीय सेवामा खटिएका दोब्बरले मारिएका छन् । सन् २०२२ मा ११८ जना मारिएका थिए । गत वर्ष २६१ जना मारिएका छन् । अरू ७८ जना बन्धक बनाइएका छन् भने १९६ जना घाइते छन् ।  एजेन्सीहरू