• ३ भदौ २०८१, सोमबार

यारी भन्सार कार्यालयको आम्दानीभन्दा खर्च दोब्बर बढी

blog

चीनको ताक्लाकोटबाट आयात भएको सामान भन्सारका कर्मचारीद्वारा सिमाना हिल्सामा चेकजाँच गरिँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौ ३ गते । उत्तरी सीमा क्षेत्र हिल्सास्थित यारी नाका भन्सार कार्यालयको वार्षिक आम्दानीभन्दा खर्च बढी हुने देखिएको छ । कर्मचारीको पारिश्रमिक र अन्य खर्च जोड्दा आम्दानीभन्दा बढी खर्च हुने देखिएको हो ।

कार्यालय प्रमुख रामराज जैसीले गत आर्थिक वर्ष ०८०।०८१ म वार्षिक आम्दानीभन्दा खर्च बढी भएको बताउनुभयो । उहाँले कार्यालयले वार्षिक आम्दानी १२ लाख १२ हजार १९६ गरेपनि खर्च भने ३० लाख भएको बताउँदै यसबाट आम्दानीभन्दा खर्च १७ लाख ८७ हजार ८०४ रुपियाँ बढी भएको बताउनुभयो । 

कार्यालयको आम्दानीको अवस्था यस्तो भएपछि घाटा बजेटमा कार्यालय सञ्चालन भएको देखिन्छ । तर भन्सार विभागले यारी नाका भन्सार कार्यालयलाई वार्षिक लक्ष्य भने पाँच लाख भन्दा बढी दिएको थियो । सो लक्ष्य भन्दा भने दोब्बर बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको थियो । उहाँले कार्यालयले यसरी राजस्व सङ्कलन कम हुनुमा कर्मचारीको व्यवस्था नभएको कारण पनि रहेको बताउँदै आफू काम विशेषले हिल्सा छोडेर जानु पर्ने अवस्था आए राजस्व सङ्कलन कार्य नै बन्द हुने बताउनुभयो । 

अर्को कुरा हिल्सा नाकाबाट आयात हुने सामानहरू हुम्ला जिल्लाको लागि मात्र रहेको कारण पनि धेरै परिमाणमा नआउने भएकोले पनि आम्दानी कम हुने गरेको उहाँले बताउनुभयो । अर्को आम्दानीभन्दा खर्च बढी हुनुमा सिमकोट र हिल्सामा कार्यालय भाडामा लिनु परेको कारण पनि रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा कार्यालयका खर्चका लागि पचास लाख बजेटको व्यवस्था भएको छ भने लक्ष्य विभागले हालसम्म दिएको छैन । 

साउन महिनामा मात्र कार्यालयले एक लाख १४ हजार राजस्व असुली भएको छ । अब हिल्सामा राजस्व असुली कार्य चालु आर्थिक वर्षका लागि पाँच महिना मात्र हुनेछ । हिउँदको समयका नाका सञ्चालन भई रहने भएपनि कारोबार नहुँदा कार्यालय बन्द हुने गरेको छ ।