• ३ भदौ २०८१, सोमबार

'गेज रिडर'को पारिश्रमिक बढाउन माग

blog

विश्व मानवीय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री हीरा सार्की । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३ गते । सुदूरपश्चिम प्रदेशमा कार्यरत गेज रिडर (जल सतह मापक) हरूको पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसको अवसर पारेर आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले गेज रिडरहरुको पारिश्रमिक लगायत अन्य सेवा सुविधा बढाउन माग गरेका हुन् । 

गेज रिडरहरुले पाउँदै आएको दैनिक ज्याला दुई सय रुपियाँ अत्यन्त न्यून रहेको र कम्तीमा पनि सरकारले आफैँले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अनुरूप ज्याला कायम हुनुपर्ने उनीहरूको भनाइ छ । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले गेज रिडरको पारिश्रमिक बढाउने सवालमा आफ्नो ध्यानाकर्षण भएको जनाउनुभयो । उहाँले यस कुरालाई आफूले क्याबिनेटमा राख्ने उल्लेख गर्नुभयो । त्यस्तै, प्रदेशको जोखिम बिमा गर्नका लागि छलफल चलाइएको उल्लेख गर्दै मन्त्री सार्कीले भन्नुभयो, “यो बिमा भएमा सबैको जोखिम बहन हुनेछ ।”

कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले गेज रिडरका विषयलाई निर्णय प्रक्रियामा लैजान आवश्यक रहेको औँल्याउनुभयो । त्यस्तै, प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपत्बाट हुने क्षति न्यूनीकरणका लागि धेरै पहल भए पनि पर्याप्त नरहेको भन्दै अझ यसमा बढी काम गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै, पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य घनश्याम चौधरीले विपत् जोखिम न्यूनीकरणको सवालमा मन्त्रालयले ठोस काम गर्नुपर्ने उल्लेख गर्नुभयो । 

जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिनका प्रमुख सञ्जय साहले गेज रिडरको पारिश्रमिक बढ्नु पर्ने बताउनुभयो । यसका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको उहाँको भनाइ थियो । 

गेज रिडरको काम गर्दै आउनुभएका मानबहादुर चौधरीले ५० रुपियाँ खर्चेर आफूहरूले पाँच हजार व्यक्तिको ज्यान बचाउने काम गर्दै आए पनि न्यून पारिश्रमिकका कारण गुजारा गर्न समस्या रहेको सुनाउनुभयो । 

सरकारले एकातिर न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अर्कोतिर आफैले त्यसलाई कार्यान्वयन नगर्ने अवस्था देखिएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष देवीप्रसाद खनालको भनाइ छ । उहाँले गेज रिडरका माग सम्बोधनका लागि सदनदेखि सरकारसम्म आवाज उठाइ दिन प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरूलाई आग्रह गर्नुभयो । 

यसैबिच, गेज रिडरहरुले पारिश्रमिक वृद्धि, आवश्यक सेवा सुविधा तथा सुरक्षा सम्बन्धी सामग्री, स्वास्थ्य बिमा, जीवन बिमा, दुर्घटना बिमा लगायतको माग गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानु नमन्त्री हीरा सार्कीलाई मागपत्र बुझाएका छन् । गेज रिडरको तर्फबाट हीरादेवी मिश्रले मन्त्रीलाई मागपत्र हस्तान्तरण गर्नुभयो ।