• १२ मंसिर २०८१, बुधबार

जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश

blog

काठमाडौँ, भदौ ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरुको कार्यादेश तय गर्नुभएको जसपा केन्द्रीय विभागका सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

जसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै, विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन् ।

त्यस्तै, केन्द्रीय अभियन्ताले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानको आधारमा नामाङ्कन गर्नका लागि दबाब सिर्जना गर्न, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनि निर्देशन गरिएको छ ।

पार्टीका चार सय १५ जना केन्द्रीय अभियन्तालाई पार्टीको आदर्शहरु सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य–समाजवादी लोकतन्त्रको अवधारणा बारे र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेताहरुलाई अभियानमा खटाइने भएको छ ।

जसपा केन्द्रीय विभागका सदस्य बस्नेतले चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनि निर्धारण गरिएको बताउनुभयो ।

जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुलाई अभियन्ताको रुपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो ।