• ३ भदौ २०८१, सोमबार

म्याग्दीमा महिलाको बीभत्स हत्या

blog

साधन घर्ती
म्याग्दी(दरबाङ), भदौ ३ गते ।
म्याग्दीमा एक महिलाको बीभत्स हत्या भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।

मृतक बिनाकुमारीको टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । हत्या गरेर फरार भएका अभियुक्त दलबिरलाई राती करिब पौने ११ बजे सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही समय अघि मात्र उनिहरु बिच जग्गा किनबेचको विषयमा बिबाद भएको एक स्थानीयले बताउनुभयो । घटनास्थलमा वडा अध्यक्ष मोतिप्रसाद बुढा, इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली लगायत पुगेका थिए ।