• ३ भदौ २०८१, सोमबार

गौतम बुद्ध विमानस्थलमा उडान गर्न दुई कम्पनीको तयारी

blog

काठमाडौँ, भदौ ३ गते । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगामी कात्तिक ११ गतेदेखि सुरु हुने हिउँदे उडान तालिका अनुसार भैरहवामा उडान गर्न कुवेतको जजिरा एयर र हङ्गेरीको बिज एयरले विभिन्न छुट मागसहित उडान तालिका स्वीकृत गर्न साउन २९ गते पत्राचार गरेका हुन् । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जजिरा एयरले कुवेतबाट र बिज एयरले अबुधाबीबाट साताको चार/चार दिन उडान गर्न अनुमति मागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उडान अनुमतिसँगै उक्त कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, इन्धन, पर्यटन करमा छुटसमेत माग गरेकाले सरकारले निर्णय गरेलगत्तै उडानको प्रक्रिया सुरु हुने छ ।” 

प्राधिकरणले हाल उक्त विमानस्थलमा उडान गर्ने हवाई कम्पनीलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसनलगायतमा छुट दिइरहेको भन्दै सूचना अधिकारी भुलले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर, इन्धन र पर्यटन कर प्राधिकरणको दायराभन्दा बाहिरको विषय भएकाले सरकारको निर्णय कुरिरहेको बताउनुभयो । 

जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको उहाँले जानकारी दिनुभयो । सरकारले छुटसम्बन्धी निर्णय गरेपछि ढाका–पोखरा–ढाका उडानका लागि अनुमतिको प्रक्रियामा रहेको बङ्गलादेशको विमान कम्पनी एयर अस्त्रले पनि साताको तीन दिन पोखरामा उडान गर्ने सूचना अधिकारी भुलले जानकारी दिनुभयो । 

यसअघि जजिरा एयरवेजले २०७९ जेठ २ गतेदेखि कुवेत–भैरहवा उडान सुरु गरेको थियो । खराब मौसमका कारण कम भिजिबिलिटीमा उडान र अवतरण हुन नसकेको भन्दै २०७९ पुसबाट उडान स्थगित भएको थियो । उडान स्थगन गरेको जजिराले पुनः २०७९ फागुन २५ देखि उडान सुरु गरेर २०८० वैशाखदेखि उडान बन्द गरेको हो ।