• २ माघ २०८१, बुधबार

दिगो जीविकोपार्जन कार्यक्रम लागू

blog

परियोजनाको सुरुवाती कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क रावत । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, भदौ २ गते । कैलालीको घोडाघोडी नगरपालिकामा दिगो जीविकोपार्जनका लागि समावेशी विकास परियोजना लागू भएको छ । आइतबार परियोजनाको सुरुवाती कार्यक्रममा बोल्दै नगर प्रमुख खड्क रावतले आगामी छ महिनासम्म सञ्चालन हुने सो परियोजनाले वातावरणीय दिगोपनमा समुदायको क्षमता वृद्धि हुने बताउनुभयो । उहाँले समुदायलाई अधिकार मात्र होइन उहाँहरूको दायित्व समेत बोध गराउने गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सो परियोजना क्रममा जैविक प्रविधि प्रवर्द्धन, बहुकृषि प्रणाली, वाली विविधीकरण, जमिनको बहुउपयोग, पानीको बहुउपयोग लगायतका क्षेत्रमा समुदायको बानी परिवर्तन गर्न सकिने विश्वास उहाँले गर्नुभयो । 

कार्यक्रममा सहभागीहरूले कार्यक्रमको अवधि बढाउनुपर्नेमा जोड दिए ।  कृषि शाखाका सुमित्रा शाहीले परियोजनाको अवधि बढाउँदा थप उपलब्धि हासिल हुन सक्ने भएकोले कार्यक्रम अवधि थप्नु पर्ने सुझाव दिनुभयो ।

सो अवसरमा कार्यक्रमको बारेमा याक नेपाल, कैलालीका विनोद सिंहले परियोजना बारे जानकारी दिनुभएको थियो । उहाँले सो परियोजना घोडाघोडी नगरपालिकाका वडा नम्बर ४, ५, ८ र १० मा लागू हुने भएको छ । कार्यक्रममा उपप्रमुख गुलिया चौधरी, वडाअध्यक्षहरु, निमित्त प्रशासकीय अधिकृत खगेन्द्र सिंह, याक नेपालका अध्यक्ष बलबहादुर रोकाया लगायतको सहभागिता रहेको थियो ।

पछाडि परेका विपन्न समुदायका लागि सञ्चालन हुने भएको परियोजना घोडाघोडी नगरपालिकाको समन्वयमा याक नेपालले सञ्चालन गर्ने भएको हो । परियोजनाका लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ( युएनडिपी) ले आर्थिक सहयोग गरेको छ ।