• २ भदौ २०८१, आइतबार

खयरभारानीको दर्शन : मनोकांक्षा पूरा हुने विश्वास

blog

खयरलेकस्थित खयरबराह ताल र खयरभारानीको थान जाँदै। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौ २ गते । सोमबार जनै पूर्णिमाको दिन । खयरलेकस्थित खयरभारानीको दर्शनका लागि सयौँ भक्तजनहरूले शनिबार बिहानदेखि नै खयरको यात्रा तय गरेका छन् । शनिबार बेलुका खोप्रालेक पुगेका भक्तजनहरू आज बिहानै खयरलेकको यात्रा सुरु गरेका हुन् । 

प्रकृतिको अनुपम उपहार जस्तो लाग्ने निकै मनोरम स्थल खोप्रा र खयर लेक हुन् । खोप्रा र खयरलेक प्राकृतिक रूपमा निकै सुन्दर स्थल हो । अन्नपूर्ण हिमालको फेदीमा रहेको सुन्दर खयरबराह तालको छवैमा अवस्थित खयरभारानी थानको दर्शन गरेमा मनोकांक्षा पूरा हुने अटल विश्वास छ । यहाँ भोली जनै पूर्णिमाका दिन खयरभारानीको दर्शन र पूजा हुन्छ । 


म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको भूगोलमा पर्ने खयरलेक समुन्द्री सतहदेखि चार हजार सातसय मिटरको उचाइमा छ । खयरभारानीको धार्मिकसँगै प्राकृतिक सौन्दर्यताका कारण सुन्दर पर्यटकीय स्थल हो । यसपालिको जनै पूर्णिमाका दिन खयरभारानीको दर्शन र पूजाआजा गर्न भक्तजनहरू आइतबार तीन हजार ६ सय ६० मिटरको उचाइमा रहेको सुन्दर पर्यटकीय स्थल खोप्रा पुगिसकेका छन् । कतिपय भक्तजनहरू खोप्राबाट एक दिनको यात्रा गरेर खयरखोला पुगिसकेका छन् । 

अन्नपूर्ण ६ घार स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्नुहुने अस्मिता खड्काले शनिबार पाउँद्धार गाउँदेखि करिब ८ घण्टाको उकालो यात्रा पछि खोप्रालेक पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खोप्राको सुन्दरताले थकाई मेटाइदियो । आँखै अगाडी देखिने हिमशृङ्खला, हरियाली पहाड र रमाइलो भूगोलमा रमाउन पाउँदा साँच्चिकै स्वर्गको अनुभूति भयो ।’’ पहिलोपटक खयरभारानीको दर्शनका लागि हिँड्नु भएकी थापा आइतबार खयरखोलामा गएर बासबस्ने र जनैपूर्णिमाको दिन बिहानै खयरलेक पुग्ने योजना सुनाउनुभयो । खोप्रालेक प्रकृति प्रेमीहरूका लागि आकर्षक स्थल भएको उहाँको अनुभव छ । 


खयरको भिरालो पाखाको हरियाली चरन क्षेत्रको पृष्ठभूमिमा चारैतिर हिमाल देख्न सकिन्छ । खोप्रालेकबाट अन्नपूर्ण, धौलागिरि माछापुच्छ्रे«े, मनास्लु रेञ्जका हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरबराही ताल र वरपरको रमाइलो दृश्यले भक्तजन र पर्यटकलाई लोभ्याउँछ । 

छिनछिनमा फेरीरहनै मौसम र बादलसँग सुन्दर दृश्यहरू लुकामारी गरिरहेका हुन्छन् । बिहानीको समयमा मौसम सफा हुँदा भिरालो भूगोलको घाँसे मैदान सुन्दर देखिन्छन् । हिमशृङ्खलाको दृश्य, हरियाली पाखा, विभिन्न प्रजातिका रंगीविरंगी फूल, हरियो घाँसे मैदानमा भेडाका बथान र आकाशमा देखिने सफा सेतो बादलले खयरक्षेत्र साँच्चिकै स्वर्गको जस्तो लाग्छ ।  

खयरबराह ताल र परिसरमा रहेको खयरभारानीको थानमा जनैपूर्णिका दिन ठुलो सङ्ख्यामा भक्तजनहरू दर्शन र पूजाआजाका लागि पुग्ने गर्दछन् । खयरभारानीको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास छ । 

परापूर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किम्बदन्तीका आधारमा यस स्थानमा स्थानीयवासीले दर्शन र मनोकामना पूरा हुने आशाका साथ भाकल गर्ने चलन छ । त्यहाँ पुगेका भक्तजनहरूले आफ्नो चाहना तलाउ छेउमा रहेका पुजारीलाई भन्ने गर्छन् । 

पुजारीले भक्तजनले भनेको कुरा खयर भारानीलाई पूरा गरिदिनु भन्ने आग्रह गर्दै तलाउबाट हिलो माटो, ढुङ्गा आदी झिकेर दिने गर्छन् । खयरबराही ताल र थानमा नरिवल र साँडले पूजा गर्ने परम्परा छ । प्रसादका लागि भेटी चढाई धजा लिने नौलो चलन छ । किंवदन्ती अनुसार बराही माईका नौ बहिनी मध्य जेठी बहिनी खयरभारानी हुन भने, पोखरा फेवातालको बिचमा रहेको तालबराही माइली बहिनी हुन् भन्ने विश्वास छ । 

त्यस्तै, राम्चेको नाङ्गी वाराही, सिखको कान्छी वाराही, हिस्तानको प्यारी वाराही पनि खयरकै बहिनीहरू भएको धार्मिक विश्वास छ । खयर भारानीको दर्शनका लागि ताल परिसरमा थानको पुनर्निर्माण भएको छ । त्यहाँ पहिला भेडा गोठालाहरूले ढुङ्गामा पूजा गर्ने थान बनाएका थिए । खयरभारानी थान क्षेत्र संरक्षण कोषले चन्दामार्फत व्यवस्थित थान निर्माण गरेपछि पूजाआजा गर्न सहज भएको कोषका संरक्षक राजु पुनले बताउनुभयो । 

खयरलेक पुग्न सडक पुगेको पाउद्धार गाउँदेखि दुई दिन उकालो पदयात्रा गर्नुपर्छ । बर्खायाम भएकाले ग्रामीण सडक भत्किएका कारण अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि नै पैदल यात्रा गर्नुपर्दछ । पहिलो दिनको बास बस्नलाई खोप्रालेक पुगिन्छ । खोप्रामा सामुदायिक लज छन् । त्यहाँ खान र बस्नको लागि सुविधा छ । 

खोप्राबाट बिहानै बाट हिँडेर अर्को दिनको बास बस्न खयरखोला पुग्न सकिन्छ । खोप्रा भन्दा माथि होटल रेष्टुरेष्ट छैनन् । कोषले खयरखोलामा पाहुना बस्ने अस्थायी प्लास्टिक घर र खयर ताल परिसरमा आश्रयस्थल बनाएको छ । पछिल्ला केही वर्ष यता जनैपूर्णिमा आउने भक्तजनहरूलाई लक्षित गरेर खयरखोलामा निजीस्तरबाट पनि होटल सञ्चालन हुने गरेको छ । 

चौरासी वर्ष पुगेका र दिवङ्गत आफन्तको स्मृतिमा पाउद्धारका एक सय भन्दा बढीले खोप्रा हुँदै खयरभारानी तालको उकालो, अप्ठ्यारो ठाउँमा पदमार्ग निर्माण गरेका छन् । पदमार्गसँगै चौतारी बनाएका छन् । भक्तजनहरूको सेवाका लागि ठाउँठाउँमा खानेपानीका धारा पनि बनाइएको छ । 

जनै पूर्णिमाका दिन खयरखोलाबाट बिहानै यात्रा तय गनुपर्दछ । केही माथि पुगेपछि धोतीखोलामा पुगेर स्नान गर्ने,कपडा फेर्ने गरिन्छ । उकालो चढेपछि खयरभारानी पुग्न सकिन्छ। भारानीसँग मनले चिताएको वर मागे पूरा हुन्छ भन्ने गहिरो विश्वास छ । एक पटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ । भारानीको दर्शन गर्ने मौलिक विधि छ । खयरलेक पुगेका भक्तजनहरूलाई व्यवस्थित पूजाआजाको व्यवस्था मिलाउन पाउद्धारवासीहरु स्वयंसेवकका रूपमा खटेका हुन्छन् । पूर्णिमाका दिन खयरभारानीको दर्शन र पूजा गरेर भक्तजनहरू त्यहाँबाट फर्किने गर्दछन् ।