• २ भदौ २०८१, आइतबार

ढोल बजाउँदै मनाइयो ओल्के–बुढेली पर्व

blog

अमरगढी समाचारदाता

डडेलधुरा, भदौ २ गते । डडेलधुरालगायत सुदूरपश्चिम प्रदेशमा ढोल, दमाहलगायत स्थानीय बाजा बजाउँदै चैत धुमारी खेल खेल्दै ओल्के–बुढेली पर्व मनाइँदै छ । बुढेलीसँगै स्थानीयले एक महिनापछि बुढी पोल्ने बन्ढुनी मेला मनाउन रुखका हाँगाबिँगा एकै ठाउँमा थुपारी बन्ढुनी बार्ने गरेका छन् । बन्ढुनी बार्ने दिन ऐरी गाउँमा सुदूरपश्चिमको संस्कृति अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छ ।

भदौ २ गते दुमडा गाउँमा पनि बुढेली मनाइने छ । पहाडी क्षेत्रमा बन्ढुनी बारिन्छ र त्यसको ठिक एक महिनापछि बुढी पोल्ने भन्दै घर घरबाट आगोको राँको निकाली जलाइन्छ ।

हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, चिउरीको पात, दुध, दही दिएर स्वागत गर्ने गरिन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात् कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप सागपात, फलफूल, मिठा मिठा खानेकुरा बाँड्नुका साथै महिलाले हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ ।

ओल्के पर्वमा विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरेर सेल, पुरी, माणा, निसासे, डुब्का खिरलगायत मिठा परिकार पकाएर खाने खुवाउने परम्परा पनि छ । यस दिन भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्सातको मौसममा खेतबारीमा काम गर्दा हात, खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहिआएको छ ।

द्वापरयुगमा भगवान् श्री कृष्णले कुटना बुढीलाई दाह गरेको सम्झनामा असोज एक गते बुढी पोल्ने परम्परा छ । भगवान् श्री कृष्णले कुटुना बुढीलाई जलाउनुअघि एक महिनासम्म युद्ध गरेकाले ओल्के पर्वका दिन बुढी बनाई ठिक एक महिनापछि जलाइने भट्टले बताउनुभयो ।