• १ भदौ २०८१, शनिबार

लोमान्थाङमा गल्फ प्रतियोगिता सम्पन्न

blog

लोमान्थाङमा आयोजना गरिएको गल्फ प्रतियोगिताका विजेता । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौ १ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक समेत रहनुभएका इन्द्रधारा विष्टले टप अफ दि वल्र्ड गल्फ क्लासिकको उपाधि जित्नुभएको छ । 

स्टेवल फोर्ड फूल हण्डिक्यापको फम्रयाटमा खेलाइएको ९ होलको खेलमा विष्टले ३ हन्डर हान्दै २१ स्कोर जित्नुभएको थियो । ३ वटा होलमा पार,एउटामा त्रिपल बुगी र ५ वटा होलमा बुगी खेल्दै विष्टले उपाधि हासिल गर्नुभयो । 

प्रतियोगितामा नेपाल गल्फ एसोसिएनका उपाध्यक्ष समेत रहनुभएका फुर्साङ लामा दोस्रो हुनुभयो । उहाँले ५ वटा होलमा पार,एउटामा डबल बुगी र बाँकी ३ वटामा बुगी हिर्काउदै २ अन्डर २० को स्कोर प्राप्त गर्नुभयो । पुरुष तर्फको ग्रस उपाधि गैर आवासीय नेपाल संघ अमेरिकाबाट प्रतिनिधित्व गर्नुभएका निर्मल श्रेष्ठले हात पार्नुभयो । उहाँले १४ स्कोर सहित ग्रस उपाधि हासिल गर्नुभयो । 

श्रेष्ठले तेस्रो होलको पार थ्रि,मा बर्डी हिर्काउनुभयो भने ४ वटा होलमा पार,एउटा होलमा डवल बुगी र बाँकी ३ होलमा बुगी हिर्काएको प्रतियोगिताका सदस्य भुवन गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, महिला तर्फ पोखराकी बालकाशी गुरुङले उपाधि जित्नुभएको छ । उहाँले ५ अन्डर २३ को स्कोर प्राप्त गर्नुभयो । प्रतियोगितामा धरानकी झुना राई दोस्रो हुनुभयो । विजेता खेलाडीहरुलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले पुरस्कार र ट्रफी वितरण गर्नुभयो । 

समुद्री सतह देखि चार हजार ६ सय ४५ मिटरको उचाईमा गल्फ प्रतियोगिता गरिएको आयोजकले जनाएका छन् । लोमान्थाङको पर्यटन प्रवद्र्धनका लागि विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता आयोजना गरिएको हो ।  प्रतियोगितामा  होल नम्बर ३ मा होल इन वन गर्ने खेलाडीलाई याक प्रदान गर्ने भनिएपनि कसैले जित हासिल गर्न सकेनन् । विश्वकै उच्चतम गल्फ कोर्समार्फत लोमान्थाङको पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य भएको मुस्ताङ गल्फ कोर्सका व्यवस्थापक  विष्टले बताउनुभयो । 

आगामी दिनहरुमा मुस्ताङ गल्फ कोर्सलाई विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रुपमा प्रचार गर्न समेत यसपटको प्रतियोगिताले सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितालाई आगमी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।

प्रतियोगिताका वारेमा संसारभर प्रचारप्रसार गरेर विदेशी खेलाडीहरुलाई पनि आकर्षीत गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । गल्फ प्रतियोगितामा आएका खेलाडी र पर्यटकहरुलाई लोमान्थाङमा स्वागत गर्न पाउँदा खुसी गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । गल्फ प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा ठूला टेवा पुगेको उहाँले आशा व्यक्त गर्नुभयो ।