• १ भदौ २०८१, शनिबार

उद्योगमा विद्युत काट्नु हुँदैन : ऊर्जा मन्त्री खड्का

blog

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ।

काठमाडौँ, भदौ १ गते। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्नु नहुने बताउनुभएको छ।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम नतिर्ने उद्योगको विद्युत काट्नु नहुने बताउनुभएको हो। 

उहाँले सरकारले उद्योगीहरुले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्नेकुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो।

उहाँले वक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्नु नहुने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिनुभयो। 

उद्योगसँग आश्रित परिवार, उत्पादन र राजश्वको कुरा पनि भएकाले पैसा नतिरेको खण्डमा कानुनको प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले उद्योगले पैसा तिर्नु पर्दैन भनेर कहिल्यै नभनेको भन्दै दुष्प्रचार गरिएको बताउनुभयो। 

मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरुप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताउनुभयो। उहाँले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने बताउनुभयो। उहाँले विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेलाई सहुलियत दिनुपर्ने बताउनु भयो। उहाँले देशका सबै ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने भन्दै नीतिगत रुपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताउनुभयो। 

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताउनुभयो। राज्यमन्त्री तामाङले विद्युतको वक्यौता रकम नतिर्नेसँग साँठगाँठ गरेर विद्युत नजोड्न कर्मचारीलाई सचेत गराउनुभयो।