• १ भदौ २०८१, शनिबार

अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्छ : स्वास्थ्यमन्त्री

blog

बिन्दु थापा 

पाल्पा, भदौ १ गते । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पाल्पा जिल्ला अस्पतालद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताउनुभएको हो । 

सारुले आफ्नो विभागीय जिम्मेवारीअनुसार सेवाग्राहीमुखी कार्य सम्पादनमा लाग्न र बिरामीलाई समुचित परामर्श प्रदान गरी सन्तुष्ट बनाउन लाग्नु पर्ने  बताउनुभयो । सारुले अस्पतालमा कार्यरत कर्मचारीलाई जिम्मेवार बनेर सेवा प्रदान गर्न सुझाव दिनुभयो । 

जिल्ला अस्पताल पाल्पा विकास समितिका निवर्तमान अध्यक्ष गुरास आत्रेयले  दक्ष जनशक्तिको अभावका कारण बिरामीलाई सहज रुपमा सेवा दिन कठिन  भएको बताउनुभएको थियो । 

सूचना अधिकारी रेडियोलोजीस्ट प्रमिला पाठकले कम दरबन्दी भएका कारण र आएका डाक्टरहरु पनि दुई चार महिनामा सरुवा गर्ने समस्या रहेको बताउनुभयो । 

पाठकले अस्पतालमा हाल ८ जना डाक्टरले बिरामीलाई सेवा दिए पनि अध्ययन विदामा गएका कारण समस्या परेकाले यसलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।